२४ माघ २०८२, शनिबार

यसवर्ष मनसुन सुरु भएपछि विपद्का घटनाबाट हालसम्म १० जनाको मृत्यु,२६ जना बेपत्ता

प्रकाशित मिति :  20 June, 2023 12:54 pm


काठमाडौँ । यसवर्ष मनसुन सुरु भएपछि विपद्का घटनाबाट हालसम्म १० जनाको मृत्यु भएको छ ।

प्रतिनिधि सभा बैठकमा बोल्दै उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले विपद्का घटनाबाट हालसम्म १० जनाको मृत्यु भएको जानकारी दिए ।

त्यस्तै ६ जना घाइते, २६ जना बेपत्ता र ५४ घर पूर्ण रुपमा क्षति भएको गृहमन्त्री श्रेष्ठले जानकारी दिए ।

गृहमन्त्री श्रेष्ठले असार २ गते रातिदेखिको अविरल वर्षाका कारण संखुवासभा, ताप्लेजुङ र पाँचथर जिल्लामा बढी असर परेको बताए ।

उनले भने,“यस वर्ष नेपालमा मिति २०८० जेठ ३१ गतेबाट मनसुन प्रवेश गरेको छ । यसको असर नेपालको पूर्वी पहाडी जिल्लाहरुमा संखुवासभा, ताप्लेजुङ, पाँचथरमा बढी देखिएको छ । असार २ गते रातिदेखिको अविरल वर्षाका कारण बाढी, पहिरो, डुबान लगायतका विभिन्न विपद्का घटनाहरूबाट देशको पूर्वी भुभागका संखुवासभा, ताप्लेजुङ, पाँचथर लगायतका जिल्लामा केही व्यक्तिहरुको मृत्यु हुनुका साथै केही घाइते र बेपत्ता भएका छन् ।”

विवरण आउने क्रम अझै जारी रहेको गृहमन्त्री श्रेष्ठको भनाई छ ।

गृहमन्त्री श्रेष्ठले विपद् पीडित उद्दार तथा राहत सम्बन्धी गृहमन्त्री श्रेष्ठले मापदण्ड २०७७ अनुसार मृतकको परिवारलाई राहत उपलब्ध गराउने व्यवस्था मिलाइएको बताए ।

उनले प्रभावित घरधुरीलाई पनि सोही मापदण्ड अनुरुप तत्काल पुनःस्थापनाका लागि रकम उपलब्ध गराइने उल्लेख गरे ।

उनले भने,“विपद् पीडित उद्दार तथा राहत सम्बन्धी मापदण्ड २०७७ बमोजिम मृतकको परिवारमा एकजनाको मृत्यु भए दुई लाख र सोही परिवारका थप अन्य व्यक्तिको मृत्यु भएमा प्रतिव्यक्ति थप एक लाखको दरले राहत उपलब्ध गराउने व्यवस्था मिलाइएको छ । घरवास क्षति भएकालाई तत्काल गुजाराको लागि प्रति परिवार १५ देखि २० हजार उपलब्ध गराउने व्यवस्था मापदण्ड अनुसार मिलाइएको छ । तत्काल खोज, उद्दार तथा राहत सम्बन्धी अन्य व्यवस्था मापदण्ड बमोजिम भइरहेको छ ।”



प्रतिक्रिया दिनुहोस !