१० पुस २०८२, बिहिबार

बसमा करेन्ट : बाउ बचाउन जाँदा छोराले पनि ज्यान गुमाए

प्रकाशित मिति :  6 July, 2023 1:28 pm


दाङ । दाङको तुल्सीपुरबाट बस रोल्पा गंगादेव गाउँपालिकाको दलसिंगे जाँदै थियो ।

गएरातिको हावाहुरी र पानीले सडक छेउमा रहेको बिजुलीको तारमा रुख ढलेको थियो । रोल्पातिर जाँदै गरेको बस सडक पार गर्दै गर्दा बिजुलीको तारमा छोइयो ।

बसमा करेन्ट लागेको थाहा पाएपछि सबै यात्रु बाहिर निस्किए तर बसमै सवार कालुराम डाँगीले बसमा रहेको फलामको डण्डी समाए । डण्डी समाएपछि उनलाई करेन्ट लाग्यो ।

छोरा टोपलाल डाँगी सुरक्षित तरिकाले बाहिर निस्किसकेका थिए । बाउलाई करेन्ट लागेको थाहा पाएपछि उनी बचाउन भन्दै गए । टोपलालाई पनि करेन्ट लाग्यो ।

कपुरकोट गाउँपालिका वडा नम्बर ३ का वडाअध्यक्ष प्रदीप खड्काले भने,“ बसमा करेन्ट लागेको थाहा पाएपछि निस्कदै गर्दा बाउले फलामको डण्डी समाउनुभएछ । उहाँलाई करेन्ट लाग्यो । बाउलाई बचाउन जाँदा छोराको पनि मृत्यु भयो । ”

सल्यान कपुरकोट गाउँपालिकाको वडा नम्बर-३ चोरखोलामा तारले बसमा छुँदा करेन्ट लागेको थियो । रा १ ख ८३४ नम्बरको बसमा ३३ के.भी. प्रसारण लाईनको पोलको तारमा बसले छुँदा २ जनाको मृत्यु भएको हो ।

घटनामा बसका मालिक घाइते भएका छन् । अन्य यात्रु भने सकुसल रहेको अध्यक्ष खड्काले जानकारी दिए ।



प्रतिक्रिया दिनुहोस !