क्रिकेटर ज्ञानेन्द्र मल्लले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिए
काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान ज्ञानेन्द्र मल्लले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका छन् । शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गरेर सन्यास लिएको घोषणा गरेका हुन् ।
मल्लले क्रिकेटको अन्तर्राष्ट्रिय करिअरलाई पूर्णविराम लगाउन आफ्ना लागि यो उपयुक्त समय भएको बताउँदै भने क्रिकेट करियरबाट सन्तुष्ट भएको छु अब एउटा फरक यात्राको आरम्भ गर्ने गर्नेछु ।
अहिले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास घोषणा गरेका मल्लले घरेलु् क्रिकेट पनि नखेल्ने बताए । उनले भने अहिलेलाई इन्टरनेशनल क्रिकेटबाट पूर्णरुपमा सन्यास लिइसके अब घरेलुमा पनि सायद फर्किन्न होला ।
सन् २००५ देखि उमेर समूहको क्रिकेटबाट यात्रा सुरु गरेका थिए । यू–१५ टोलीबाट खेल्न थालेका उनले २००५ मा नै यू–१७, यू–१९ बाट २००६ देखि राष्ट्रिय सिनियर टिममा डेब्यु गरेका उनले २०२३ मा जिम्बावेस्थित हरारे मैदानमा आईसीसी विश्वकप क्वालिफायर्समा आयरल्यान्डसँग नेपालको जर्सीमा अन्तिम खेल खेलेका हुन् ।
ज्ञानेन्द्रले नेपालका लागि ३७ वटा एकदिवसीय र ४५ वटा टी(२० आई क्रिकेट खेलेका छन् । उनले ७७ वटा लिस्ट ए क्रिकेटमा १ हजार ८०२ रन बनाएका छन् ।








