रोल्पामा भएको बस दुर्घटनाप्रति पूर्वसभामुख महराद्वारा दुःख व्यक्त,घाइतेको उचित उपचार गर्न सरकार माग
काठमाडौँ । पूर्व सभामुख कृष्णबहादुर महराले रोल्पामा हिजो भएको बस दुर्घटनाप्रति दुःख व्यक्त गरेका छन् ।
पूर्वसभामुख महराले रोल्पाबाट घोराही आउदै गरेको ना ५ ख २६१२ नं को बस त्रिवेणी गाउँपालिकाको रिचीमा दुर्घटना भएको र उक्त दुर्घटनामा ठूलो मानवीय क्षति भएकोमा आफू अत्यन्त मर्माहत भएको उल्लेख गरेका छन् ।
शोक वक्तव्य जारी गर्दै उनले भनेका छन्,“ हिजो साउन २३ गते रोल्पाको बागमारादेखि थबाङ–घोराही सहिदमार्गबाट दाङको घोराही आउदै गरेको ना ५ ख २६१२ नं को बस त्रिवेणी गाउँपालिकाको रिची गाउंमा दुर्घटना भएको र उक्त दुर्घटनामा ठूलो मानवीय क्षति भएकोमा अत्यन्त मर्माहत बनाएको छ । दुर्घटनाका मृतकहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु ।”
बस दुर्घटनाा ४ जनाको मृत्यु भएको थियो भने १९ जना घाइते भएका थिए । घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उचित उपचारको व्यवस्था गर्न सरकार समक्ष पूर्वसभामुख महराले माग गरेका छन् ।
उनले पछिल्लो समय बढिरहेको सडक दुर्घटना न्यूनीकरणका लागि उचित पहल गर्न सरोकारवाला निकायहरूसँग आग्रह समेत गरेका छन् ।
महराले लगातारको वर्षा पछि देशभर आएको बाढी पहिरोले पारेको धनजनको क्षतिप्रति दुःख व्यक्त समेत गरेका छन् ।









