१८ बैशाख २०८१, मंगलबार

नेपाल र पाकिस्तानको खेल हेर्न जनकपुरधाम उपमहानगरपालिकाका सबै विद्यालय बन्द

प्रकाशित मिति :  30 August, 2023 2:34 pm


काठमाडौं । एसिया कप क्रिकेटमा नेपाल पाकिस्तानको खेल हेर्नका लागि जनकपुरधाम उपमहानगरपालिकाले बुधबार दिउँसो २ बजेपछि बिदा दिएको छ ।

उपमहानगरका वरिष्ठ उपसचिव मेहीलाल यादवले एक सूचना जारी गरी बुधबार दिउँसो २ बजेपछि उपमहानगरभित्रका सामुदायिक तथा संस्थागत विद्यालय बन्द गर्न निर्देशन दिएका हुन् ।

आजदेखि सुरु हुन लागेको एसिया कप क्रिकेट प्रतियोगिताको उद्घाटन खेलमा नेपालले घरेलु टोली पाकिस्तानसँग मुल्तानमा खेल्दैछ । १५ औँ स्थानमा रहेको नेपालले पहिलोपटक एकदिवसीय वरीयताको शीर्ष स्थानमा रहेको टिमसँग खेल्दैछ । आज नेपाली समय अनुसार सवा ३ बजेदेखि नेपाल र पाकिस्तानबीच खेल हुँदैछ ।

नेपाली खेलाडीको हौसला बढाउन र विद्यार्थीहरुमा खेलप्रति ऊर्जावान भावना जागृत गराउनको लागि विद्यालय बन्द गर्न उपमहानगरपालिकाले अनुरोध गरेको छ ।

उपमहानगरपालिकाले जारी गरेको सूचनामा भनिएको छ,‘सीमित साधन स्रोतको बलमा पनि नेपाली क्रिकेट टिम एसिया कपमा सहभागिता जनाउनु तथा भारत र पाकिस्तान जस्ता शक्तिशाली टिमका साथ प्रतिस्पर्धा गर्नु सम्पूर्ण नेपालीहरुको निम्ति ठुलो गौरवको कुरा भएको हुनाले आज पाकिस्तानसँग एसिया कपको पहिलो खेल ३स्०० बजेदेखि खेलिने भएकोले हाम्रो गौरवालित टिमको हौसला बढाउन र विद्यार्थीहरुमा खेल प्रति उर्जावान भावना जागृत गराउनका निम्ति आज २ बजे पछि कुनै पनि कक्षा संचालन नगरी बिदा गरिदिनहुन आदेशानुसार अनुरोध छ ।’

औपचारिक रूपमा अन्तर्राष्ट्रिय क्रिकेट खेल्न थालेको २७ वर्षपछि नेपाललाई पाकिस्तानसँग एकदिवसीय खेल खेल्ने अवसर जुरेको हो।



प्रतिक्रिया दिनुहोस !