राजकीय सम्मानका साथ एमाले उपाध्यक्ष नेम्वाङको अन्तिम विदाई

काठमाडौं । संविधानसभा अध्यक्ष एवम् नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको पशुपतिस्थित आर्यघाटमा अन्तिम संस्कारका लागि पशुपति लगिएको छ ।
बिहीबार नेम्वाङ निवास बालुवाटारबाट निकालिएको शवयात्रा त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज, चाबहिल हुँदै पशुपति आर्यघाट पुगेको हो ।
नेपाली सेनाले सलामीसहित शोक धुन बजाउँदै शवयात्रा सुरु गराएको हो । शवयात्रामा नेपाली सेनाको ब्याण्ड टोली अघि–अघि र शव बोकेको गाडी पछि–पछि छ ।
नेम्वाङको पार्थिव शरीर बालुवाटारस्थित निवासबाट मुन्धुम सँस्कृति अनुसारको विधिपूर्वक उठाइएको थियो । उनको अन्त्येष्टि मुन्धुम र हिन्दु सँस्कृति अनुसार गरिँदै छ ।
शव यात्रामा अन्य शुभेच्छुक तथा सर्वसाधारण पनि सहभागी थिए । नेम्वाङको पशुपति आर्यघाटमा राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको छ ।
सरकारले नेम्वाङको अन्त्येष्टिका दिन आज देशभर सार्वजनिक बिदा दिएको छ ।