५ जेष्ठ २०८१, शनिबार

सुन्धाराको गेष्ट हाउसमा १७ वर्षीय किशोरी मृत भेटिइन्

प्रकाशित मिति :  10 October, 2023 4:06 pm


काठमाडौ। काठमाडौंको सुन्धारास्थित श्रीगुरू गेस्ट हाउसमा १७ वर्षीया युवती मृत भेटिएकी छिन् । दुई सातादेखि उक्त गेष्टहाउसमा बस्दै आएकी ललितपुरको इमाडोलकी नीता राउत मृत फेला परेको प्रहरीले जनाएको छ ।

घटनास्थलमा प्रहरीले विषको बट्टा पनि फेला पारेको छ । प्रहरीका अनुसार किशोरी श्रीगुरु गेस्ट हाउसमा असोज ८ देखि प्रेमीसँगै बस्दै आएकी थिइन् । प्रेमीले पैसा सकिएर आइतबार आफू बाहिर निस्किएको र सोमबार बिहान गएर हेर्दा कोठामा मृत भेटिएको बयान दिएका छन् ।

प्रहरीले शवलाई पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल पठाएको छ भने, त्यस्तै आज राउतको परिवारले प्रेमीविरुद्ध आत्महत्या दुरुत्साहनको कसुरमा किटानी जाहेरी दिएको छ ।

जाहेरी लगत्तै प्रहरीले प्रेमीलाई पक्राउ गरेर अनुसन्धान थालेको छ । उनलाई हिरासतमा राख्न अनुमति लिन अदालतमा पुर्‍याइएको प्रहरीले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !