इजरायलमा मृत्यु भएका मध्ये ४ जना विद्यार्थीको शव नेपाल आइपुग्यो
काठमाडौं । इजरायलमा प्यालेस्टिनी आतंककारी हमास समहको आक्रमणमा परि मृत्यु भएका मध्ये पहिलो चरणमा ४ जनाको शव नेपाल आइपुगेको छ ।
उक्त आक्रमणमा परी १० जना नेपालीको मृत्यु भएको थियो भने बाँकी ६ जनाको शव दोस्रो चरणमा पठाइने इजरायल स्थित नेपाली दुतावासले जनाएको छ ।
पहिलो चरणमा नारायणप्रसाद न्यौपाने, दीपेशराज विष्ट र लोकेन्द्रसिंह धामीको शव आज बिहान काठमाडौं ल्याइपुर्याइएको छ । आशिष चौधरीको शव भने आज दिउँसो आइपुग्ने परराष्ट्र मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार आशिषको शव आइपुगेपछि चारवटै शव अपराह्न दुई बजे नेपाली सेनाको हेलिकप्टरमार्फत् कैलाली सदरमुकाम धनगढी लगिने परराष्ट्र मन्त्रालयले जनाएको छ ।
कृषि विषय पढ्दै कमाउँदै गर्न इजरायलमा पुगेका नेपाली विद्यार्थीहरु गत असोज २० गते हमासले गरेको आक्रमणमा परेका थिए । आक्रमणमा १० जना नेपालीको मृत्यु भएको पुष्टि भए पनि एक जना विपिन जोशीको अवस्था भने अझै अज्ञात छ ।








