३ पुस २०८२, बिहिबार

ग्याङ फाइट हुँदा दैलेखमा एक जनाको मृत्यु

प्रकाशित मिति :  27 October, 2023 11:58 am


काठमाडौं । युवाहरुबीच ग्याङ फाइट हुँदा दैलेखमा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–२ का २० वर्षीय किशोर बुढा क्षेत्री रहेको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ ।

उनको उपचारका क्रममा प्रदेश अस्पताल सुर्खेतमा मृत्यु भएको हो । मृत्यु भएका किशोर ससुराली गएका थिए ।

दैलेख प्रहरीका अनुसार गएराति भैरबी गाउँपालिका–४ मा रहेको सिलङ्गी बजारमा दुई समुहबीच भएको सामान्य विवादमा झडप भएको थियो । मोटरसाइकलमा आएका केही युवाहरुले गाली गलौज गर्दै, अपशब्द बोलेपछि झडप भएको स्थानीयहरुले बताएका छन् ।

अपशब्दका गाली गलौजको विषयमा स्थानीयले सम्झाउन खोज्दा झडपको स्थिति आएको प्रहरी जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी निरीक्षक कमल आचार्यले जानकारी दिए ।

प्रहरीका अनुसार झडपका घाइते भएका भैरबी गाउँपालिका–५ सैनचौरका २१ वर्षीय सुमन शाही दुल्लू अस्पतालमा सामान्य उपचार गरी डिस्चार्ज भइसकेका छन् ।



प्रतिक्रिया दिनुहोस !