२० बैशाख २०८१, बिहिबार

संसदीय समितिमा शिक्षकहरू: ‘हाम्रो जागिर जोगाइदिनुहोस्’

प्रकाशित मिति :  4 January, 2024 5:33 pm


काठमाडौँ । शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा साविक उच्च माध्यामिक तहमा अध्यापन गराउने शिक्षक तथा विद्यालय कर्मचारीहरुले आफूहरुको जागिर जोगाइदिन आग्रह गरेका छन्।

बिहीबार प्रतिनिधि सभाअन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा बोल्दै माध्यामिक विद्यालय शिक्षक युनियनका अध्यक्ष टिकाप्रसाद न्यौपानेले साविक उच्च माध्यामिक तहमा अध्यापन गराउने शिक्षकहरूको जागिर जोगाइदिन आग्रह गरेका हुन्।

उनले साविक उच्च माध्यामिक तहमा अध्यापन गराउने शिक्षकहरूलाई तत्कालिन समयमा लाइसेन्सबिना नियुक्त गरेको भए पनि अहिले आएर लाइसेन्स खोजिएको भन्दै असन्तुष्टि व्यक्त गरे।

उनले अहिले स्थानीय तहहरुले जबर्जस्ती लाइसेन्स ल्याउने र बर्खास्तीसमेत गर्ने धम्की दिन थालेकाले त्यस्ता शिक्षकहरुको जागिर जोगाइदिन नगरपालिका संघ र गाउँपालिका राष्ट्रिय महासंघलाई आग्रह गरे।

उनले शिक्षकहरुको आत्महत्या गरेको खबर आउन सक्ने भन्दै यसतर्फ सचेतसमेत गराए। उनले शिक्षक महासंघले छुट लाइसेन्सको सम्बन्धमा सरकारसँग गरेको सम्झौता कार्यान्वयन हुनुपर्ने पनि बताए।

उनले भने ‘‘ म पालिका महासंघका साथीहरुसँग हार्दिक अनुरोध गर्छु, यी साथीहरुको जागिर जोगाइदिनुहोस्। आज आत्महत्या गरेर मरे भनेर खबर नआओस्। म तपाईंहरुलाई पठाइदिन्छु समाचार, कसैले बन्दुक बोक्ने फोटो हालिराखेको छ।’

त्यस्तै, बैठकमा बोल्दै माध्यामिक विद्यालय शिक्षक युनियनकी सहअध्यक्ष कल्पना पनेरुले स्थानीय तहहरुले सामुदायिक विद्यालयहरुलाई नजिकबाट हेर्नुपर्ने बताइन्। उनले माध्यामिक विद्यालयहरुलाई व्यवस्थित गर्न आग्रहसमेत गरिन्।

बैठकमा बोल्दै नेपाल विद्यालय कर्मचारी परिषद् राष्ट्रिय समितिका अध्यक्ष गंगाराम तिवारीले विद्यालय कर्मचारीहरुलाई दरबन्दीमा समायोजन गर्नुपर्ने बताए। उनले विद्यालय कर्मचारीहरुलाई आन्तरिक रुपमा स्थायी प्रक्रियामा लगेर शिक्षक सरहको सेवा, सुविधा प्रदान गर्न माग गरे।



प्रतिक्रिया दिनुहोस !