६ जेष्ठ २०८१, आइतबार

नागरिक कर्तव्यलाई केन्द्रमा राख्न सके समाज परिवर्तन सहज हुनेछ: प्रहरी महानिरीक्षक

प्रकाशित मिति :  12 January, 2024 4:06 pm


काठमाडौँ । प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले सकारात्मक मनोवृत्तिका साथ नागरिक कर्तव्यलाई केन्द्रबिन्दुमा राखेर अगाडि जान सक्यौं भने समाज परिवर्तन सहज हुने विचार व्यक्त गरेका छन् ।

‘म बदलिन्छु अनि मेरो देश बदलिन्छ’ भन्ने नाराका साथ काठमाडौँ फोहोर सङ्कलन दौड अभियानका क्रममा शुक्रबार नक्सालमा आयोजित समारोहलाई सम्बोधन गर्दै कुँवरले उक्त विचार व्यक्त गरेका हुन् ।

प्रहरी महानिरीक्षक कुँवरले यस अभियानले स्वाभाविक रूपमा समाजमा एक किसिमको चेतना फैलाउने चर्चा गर्दै समाज रूपान्तरणका लागि हरेक नागरिकले आफ्नो जिम्मेवारी पूरा गर्ने हकमा महत्त्वपूर्ण काम गर्ने विश्वास व्यक्त गरे । अधिकार र कर्तव्यको कुरालाई सँगसँगै लिएर जान नसेकेको कारणले सबै किसिमको समस्या आउने गरेकोले युवावर्गले त्यसप्रति विशेष चासो दिनुपर्नेमा उनले जाेड दिए ।

काठमाडौँ महानगरपालिकाका उपप्रमुख सुनीता डङ्गोल र नेपाल टेलिकमका प्रबन्धक हरि ढकालले शुभकामनासहित आआफ्नो मन्तव्य व्यक्त गरेकाे उक्त समारोहमा मैनादेवी फाउन्डेसनका अध्यक्ष केपी खनालले स्वागत मन्तव्य व्यक्त गरेका थिए ।

नक्सालस्थित नारायणचौरबाट फोहोर सङ्कलन गर्दै सुरू भएको उक्त दौड अभियान नागपोखरी, नारायणहिटी दरबारको मूल गेट, केशरमहल चोक, लैनचौर, एम्बेस्डर होटेल हुँदै पुनः नारायणचौरमा पुगेर सम्पन्न भएको थियो । उक्त दौडमा प्रथम हुनेलाई ५० हजार रूपैयाँ, द्वितीय हुनेलाई २५ हजार रूपैयाँ, तृतीय हुनेलाई १५ हजार रूपैयाँ र चौथो हुनेलाई ५ हजार रूपैयाँ पुरस्कार प्रदान गरिएको थियो ।



प्रतिक्रिया दिनुहोस !