अभ्यास खेलमा स्कटल्यान्ड यू-१९ माथि नेपालको सहज जित
काठमाडौं । नेपालले आइसिसी यू-१९ विश्वकप अघि आधिकारीक वार्मअप खेलमा लगातार तेस्रो जीत निकालेको छ । तेस्रो खेलमा नेपालले स्कटल्यान्डलाई डकवर्थ लेविस पद्धतिको आधारमा ७ विकेटले हराएको छ ।
स्कटल्यान्डले दिएको ११५ रनको झिनो लक्ष्य पछ्याएको नेपालले २९.१ ओभरमा ९९ रन बनाउदा ३ विकेट गुमाएको थियो। बाँकी खेल वर्षाले प्रभावित हुँदा नेपाली विजयी भएको हो ।
नेपालका अर्जुन कुमाल ३३ र आकाश त्रिपाठीले २९ रन बनाए ।
त्यसअघि टस जितेर पहिला ब्याटिङ रोजेको स्कटल्याण्ड ४४.४ ओभरमा १ सय १४ रनमा अल आउट भयो । स्कटल्याण्डलाई सस्तैमा अल आउट गर्न नेपालका गुलशन झा र तिलक भण्डारीले ३/३ विकेट लिए ।
नेपालले अन्तिम वार्मअप खेल मंगलबार वेस्टइन्डिजसँग खेल्नेछ ।
यसपटकको विश्वकपमा नेपालसहित १६ टिमले भाग लिँदैछन्। विश्वकपमा नेपाल समूह ‘डी’ मा छ। समूहमा नेपालसँगै पाकिस्तान, अफगानिस्तान र न्युजिल्यान्ड छन्।








