बार्सिलोनालाई हराउँदै रियल म्याड्रिडले जित्यो सुपर कपको उपाधि
काठमाडौं । रियल मड्रिडले स्पेनिस सुपर कप फुटबलको उपाधि जितेको छ । आईतबार बार्सिलोनालाई हराउँदै रियलले सुपर कपको उपाधि जितेको हो ।
साउदी अरबको रियादमा भएको फाइनल खेलमा रियलले बार्सिलोनालाई ४-१ गोल अन्तरले हरायो ।
जुड बेलिङ्घम, रोड्रिगो र भिनिसियसलाई बार्सिलोनाको डिफेन्सले रोक्न नसक्दा खेल आफ्नो पक्षबाट गुमायो । रियल मड्रिडको जितमा ब्राजिलियन फरवार्डर भिनिसियस जुनियरले ह्याट्रिक गरे । अर्को एक गोल रोड्रिगोले गरे ।
बार्सिलोनाका रोबर्ट लेवान्डोस्कीले एक गोल फर्काएका थिए ।
खेलको सातौं मिनेटमा भिनिसियसले रियललाई अग्रता दिलाएका थिए । त्यसको तीन मिनेटपछिनै भिनिसियसले ब्यक्तिगत दोस्रो गोल गर्दै रियललाई २-० को अग्रता दिलाए ।
बार्सिलोनाका लेवान्डोस्कीले ३३ औ मिनेटमा गोल गर्दै टिमलाई खेलमा फर्काउने कोशिश गरेका थिए । तर पहिलो हाफ सकिन ६ मिनेटअघिनै भिनिसियसले ह्याट्रिक गर्दै रियललाई पहिलो हाफमा ३-१ को अग्रता दिलाए ।
अर्का ब्राजिलियन सहकर्मी रोड्रिगोले ६४ औं मिनेटमा गोल गर्दै रियलको जित ४-१ ले सुनिश्चित गरेका थिए ।
यो हारले बार्सिलोनाका म्यानेजर जाभीमाथि दबाब बढ्नेछ, जसले टोलीको फर्मसँग असन्तुष्ट प्रशंसक र मिडियाबाट आलोचनाको सामना गर्नु परेको छ। उनीहरू ४१ अंकका साथ ला लिगाको चौथो स्थानमा छन्, लिडर गिरोनाभन्दा आठ र दोस्रो स्थानको रियल म्याड्रिडभन्दा सात पछि छन्।








