१७ बैशाख २०८१, सोमबार

पूर्वीरोल्पाका तीन गाउँपालिकाको स्वास्थ्य क्षेत्रमा साझेदारी,संयुक्त फार्मेसी सञ्चालन गर्ने निर्णय

प्रकाशित मिति :  21 February, 2024 4:20 pm


रोल्पा । रोल्पाका तीन गाउँपालिकाले संयुक्त औषधी पसल (फार्मेसी) सञ्चालन गर्ने भएका छन् ।

पूर्वी रोल्पाका सुनिलस्मृति गाउँपालिका, सुनछहरी गाउँपालिका र लुङ्ग्री गाउँपालिकाका प्रमुखहरूसहितको आज बसेकाे संयुक्त बैठकले सुलिचौरमा ‘संयुक्त फार्मेसी’ सञ्चालन गर्ने निर्णय गरेको हो ।

औषधी पसल सञ्चालनका लागि तीनवटै गाउँपालिकाले सुरुमा १०/१० लाख रुपैयाँ उपलब्ध गराउने निर्णय भएको छ ।

औषधी पसल सञ्चालनका लागि सुनिलस्मृति गाउँपालिकाका अध्यक्ष मणिराम बुढाथोकीको अध्यक्षतामा ११ सदस्यीय समिति गठन भएको छ ।

समितिमा लुङ्ग्री र सुनछहरी गाउँपालिकाका अध्यक्ष,तीनवटै गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत,प्राथमिक स्वास्थ्य केन्द्र सुलिचौर व्यवस्थापन समितिका अध्यक्ष र प्रमुख, लुङ्ग्री र सुनछहरी गाउँपालिकाका स्वास्थ्य संयोजक सदस्य रहने छन् ।

सुनिल स्मृति गाउँपालिकाका स्वास्थ्य संयोजक सदस्य सचिव रहेका छन् ।

समितिले तीनवटै गाउँपालिकाको साझेदारीमा सञ्चालन हुने फार्मेसीको मापदण्ड तयार गर्ने छ । प्राथमिक स्वास्थ्य केन्द्र सुलिचौरमा फार्मेसी सञ्चालन हुने छ । सुलिचौर पूर्वी रोल्पाका तीनवटै गाउँपालिकाको मुख्य व्यापारिक केन्द्र हो ।

सुनिलस्मृति,लुङ्ग्री र सुनछहरी गाउँपालिकाको पुरै भाग तथा रोल्पा नगरपालिका र थबाङ गाउँपालिकाको मात्रै होइन रुकुम पूर्व र प्युठानका केही भागका नागरिक समेत स्वास्थ्य उपचारका लागि सुलिचौर आउने गर्दछन् ।

अध्यक्ष बुढाथोकीले यसै आर्थिक वर्षभित्र फार्मेसी सञ्चालनमा ल्याउने जानकारी दिए । सरकारले निशुल्क उपलब्ध गराउने ९८ प्रकारका औषधि प्रयाप्त नभएको भन्दै किन्नुपर्ने औषधि शुलभ रुपमा आम नागरिकलाई उपलब्ध गराउन फार्मेसी सञ्चालन गर्ने निर्णय गरिएको उनको भनाई छ ।

अध्यक्ष बुढाथोकीले भने,“ बजारमा किन्न पाइने भन्दा सस्तोमा औषधि उपलब्ध गराउने उद्देश्यले फार्सेमी सञ्चालनमा ल्याउने निर्णय गरेका हौँ । यसले आम जनतालाई सस्तो र सुलभ रुपमा औषधि उपलब्ध हुने छ ।”

तीन पालिकाको लगानी र पहल भए पनि औषधि भने सबै क्षेत्रका नागरिकले पाउने अध्यक्ष बुढाथोकीको भनाई छ । सबै व्यवस्थापन मिलाएर यसै आर्थिक वर्षभित्र फार्मेसी सञ्चालन हुने छ ।

अध्यक्ष बुढाथोकीले भने,“ फार्मेसी सञ्चालन गर्ने निर्णय गरेका छौँ । यसको सञ्चालन कसरी गर्ने भन्नेबारे विधि तय गरेर यसै आर्थिक वर्षभित्र सञ्चालन गछौँ ।”



प्रतिक्रिया दिनुहोस !