१५ बैशाख २०८१, शनिबार

ऋण लिएर पैसा बाँड्दैमा देशको समृद्धि हुँदैनः चन्द्रकान्त राउत

प्रकाशित मिति :  19 March, 2024 6:55 am


काठमाडौँ। जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त राउतले निजी क्षेत्र र उदारवादलाई निषेध गरेर देशको समृद्धि नहुने बताएका छन्।

सोमवार प्रतिनिधि सभा बैठकमा आर्थिक वर्ष २०८१/०८२ को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा भएको छलफलका क्रममा बोल्दै अध्यक्ष राउतले निजी क्षेत्र र उदारवादलाई निषेध गरेर अगाडी बढ्न नसकिने बताए।

उनले नेपालमा समाजवाद भनेको जनतालाई पैसा बाँड्नु हो भन्ने भाष्य रहेको र सबै दलहरुले त्यसैमा प्रतिष्पर्धा गर्न लागिरहेका भन्दै ऋण लिएर पैसा बाँड्दैमा देशको समृद्धि नहुने बताए।

उनले भने, “ऋण लिएर पैसा बाँड्दैमा यो देशको समृद्धि हुँदैन । त्यो हामीले देखिराखेका छौँ । दुई खर्बबाट २४ खर्ब ऋण पुगेको हामीले देखिराखेका छौँ । त्यसैले यो आयाममा हामीले छलफल चलाउनै पर्ने हुन्छ कि हाम्रो मुलुकले अहिले नै समाजवाद धान्नसक्छ कि सक्दैन ?”

राउतले देशको समृद्धिका लागि निजी क्षेत्रको लगानीलाई निषेध गर्नु नहुने तर्क गरे नेताहरुले देशलाई सिंगापुर, जापान, दुबई र कतार बनाउने भाषण गर्ने गरेका भन्दै ती देशहरु समाजवादी मुलुकमा विकास नभएको बताए।

सोभियत संघ र चीनमापनि उदारवाद अंगालेपछि मात्रै विकास भएको उल्लेख गर्दै राउतले नेपालमा भने शास्त्रीय माक्र्सवाद पढाएर जनतालाई भुलभुलैयामा राखिएको बताए।

राउतले भने, “शोभियत संघ र चीन पनि समाजवादी मोडेलमा रहँदासम्म त्यहाँको अर्थतन्त्र विकास भएको होइन । उनीहरुले पनि उदारवाद अंगालेपछि बल्ल विकास भएको हो । तर हामीले चाहीँ पुरानो शास्त्रिय माक्र्सवाद पढाएर भुलभुलैयामा राख्न खोजिन्छ ।”

उनले नेपालमा समाजवादी मोडेलमा उत्प्रेरणा नभएका कारण असफल भइरहेको बताए। सरकारी स्वामित्वका सबै संस्थानहरु घाटामा जाने गरेको र निजीको सबै नाफामा जाने गरेको अवस्था रहेको भन्दै उनले यसले पनि समाजवादी मोडेलमाथि प्रश्न उठाएको तर्क गरे।

—न्युज एजेन्सी नेपाल



प्रतिक्रिया दिनुहोस !