१० चैत्र २०८१, सोमबार

१०० बिघा क्षेत्रफलमा विषादी नियन्त्रित तरकारी फलाइरहेको ‘फ्रेसकेटिएम’

प्रकाशित मिति :  12 February, 2025 12:34 pm


काठमाडाैँ । सुरक्षित र स्वस्थकर कृषि उत्पादनलाई प्रवर्द्धन गर्दै आएको फ्रेसकेटिएम फार्मिङले विषादी नियन्त्रित तरकारी तथा अन्न उत्पादनलाई व्यापक रूपमा विस्तार गरिरहेको छ। रौतहटस्थित १०० बिघा क्षेत्रफलमा फैलिएको फार्ममा विषादी नियन्त्रित तरकारी, फलफूल, धान, मकै, गहुँ, तोरी र दाललगायतका खाद्य पदार्थ उत्पादन हुँदै आएका छन्।

फार्ममा उत्पादित तरकारी तथा अन्य खाद्य वस्तुहरू फ्रेसकेटिएमले काठमाडौँको रातोपुल, झम्सिखेल र भैंसेपाटीस्थित आउटलेटहरूमा दैनिक रूपमा उपभोक्तासमक्ष पुर्‍याउँदै आएको छ। स्वस्थ कृषि प्रणालीलाई प्रवर्द्धन गर्ने उद्देश्यले फ्रेसकेटिएमले एकीकृत पोषण व्यवस्थापन र एकीकृत कीट व्यवस्थापन अपनाएर खेती गरिरहेको छ।

फार्मका डाइरेक्टर शिव न्यौपानेका अनुसार, हाल फार्ममा २५ भन्दा बढी प्रकारका तरकारी उत्पादन गरिन्छ। यसले उपभोक्ताहरूलाई स्वस्थकर खानाको पहुँच उपलब्ध गराउनुका साथै विषादी प्रयोगलाई नियमन गर्ने नयाँ कृषि प्रणालीको विकासमा टेवा पुर्‍याएको छ।

स्वस्थ उत्पादनलाई प्रवर्द्धन गर्न फार्मले आफ्नै कम्पोस्ट, भर्मी कम्पोस्ट र जैविक सूक्ष्मजीव उत्पादन गरिरहेको छ। खेती प्रणालीको लागत घटाउने उपायहरूमाथि अनुसन्धान गर्दै फ्रेसकेटिएमले ‘जिरो वेस्ट’ प्रणाली अपनाएको छ, जसले उत्पादनलाई थप व्यवस्थित र दिगो बनाएको छ। हाल फार्ममा १०० भन्दा बढी व्यक्तिले रोजगारी पाइरहेका छन् भने फार्ममा आवश्यक पर्ने खाद्यान्नलगायत सामग्री पनि स्वयम्भूमा उत्पादन गरिन्छ।

कृषिमा लागत बढ्दै गएको अवस्थामा फ्रेसकेटिएमले फार्ममा रहेका २५० भन्दा बढी भैंसीहरूको गोबर तथा जैविक स्रोतहरूको प्रयोग गरेर कम्पोस्ट, भर्मी कम्पोस्ट र जैविक सूक्ष्मजीव उत्पादन गरिरहेको छ। यसले माटोको उर्वराशक्ति बढाउनुका साथै रसायनको अत्यधिक प्रयोगलाई घटाएर स्वस्थ उत्पादनलाई प्रवर्द्धन गरिरहेको छ। उत्पादन लागत घटाउन महत्वपूर्ण योगदान पुगेको भन्दै फार्मले जैविक तथा स्थानीय स्रोतहरूको अधिकतम उपयोग गरिरहेको छ।

फ्रेसकेटिएमले उत्पादन गरेका भाण्टा, गाजर, बोडी, खुर्सानी, टमाटर, काउली, बन्दा, करेला, तोरीको साग, काँक्रो, गहुँ, तोरीको तेल र विभिन्न प्रकारका दालहरू आफ्नै आउटलेटहरूमा दैनिक रूपमा उपलब्ध गराउँदै आएको छ। विषादी नियन्त्रित उत्पादनप्रति उपभोक्ताको रुचि बढ्दै गएपछि कम्पनीले काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा नयाँ आउटलेट खोल्ने तयारी गरिरहेको छ। नयाँ आउटलेटहरू सञ्चालनको अन्तिम तयारी भइरहेको र यसले उपभोक्तालाई स्वस्थकर, विषादी नियन्त्रित, ताजा तथा उचित मूल्यका कृषि उत्पादन उपलब्ध गराउने लक्ष्य राखिएको न्यौपानेले जानकारी दिए।

रासायनिक मलको प्रयोग न्यून गर्दै जैविक कृषि प्रवर्द्धन गर्ने उद्देश्य राखेको फ्रेसकेटिएमले आवश्यक अवस्थामा मात्रै रासायनिक विषादी प्रयोग गर्ने तथा त्यसलाई तत्काल टिपेर बजारमा नल्याउने नीतिलाई अपनाएको छ। जैविक मल र वनस्पति आधारित विषादी प्रयोगलाई प्राथमिकता दिँदै कम्पनीले सुरक्षित खेती प्रणालीलाई प्रवर्द्धन गरिरहेको छ।



प्रतिक्रिया दिनुहोस !