१२ चैत्र २०८१, बुधबार

राप्ती गाउँपालिकामा फोहोरमैला व्यवस्थापन र सरसफाइबारे अन्तरक्रिया

प्रकाशित मिति :  14 February, 2025 7:17 am


दाङ । फोहोरमैला व्यवस्थापन तथा सरसफाइ प्रवर्द्धन गर्न राप्ती गाउँपालिका वडा नम्बर ३ मा वडास्तरीय अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।

उक्त कार्यक्रममा सरसफाइलाई समुदायस्तरमा प्रभावकारी बनाउन विभिन्न विषयमा छलफल भएको थियो। कार्यक्रमका प्रमुख अतिथि तथा वडा नम्बर ३ का अध्यक्ष उमेश अधिकारीले सरसफाइलाई व्यक्तिगत आनीबानीसँग जोडेर लैजान आवश्यक रहेको उल्लेख गर्दै भने, “स्वच्छ समाज निर्माणका लागि प्रत्येक व्यक्तिको सक्रिय सहभागिता जरुरी छ। वडाले यसलाई प्राथमिकतामा राखेर विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ ।”

डस्टबिन स्थापनादेखि अभियान प्रवर्द्धनसम्म
वडाले यस वर्ष विभिन्न स्थानमा डस्टबिन राख्ने योजना अघि बढाइसकेको जानकारी गराउँदै अध्यक्ष अधिकारीले फोहोरमैला व्यवस्थापनलाई प्रभावकारी बनाउन सबैको सहकार्य अपरिहार्य रहेको बताए।

पालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत विश्वास वि.क.ले घर र समाजको फोहोर व्यवस्थापनलाई व्यक्तिगत सरसफाइजस्तै महत्वपूर्ण ठान्नुपर्ने धारणा राखे । “हामीले शरीरको सरसफाइमा जति ध्यान दिन्छौं, त्यति नै प्राथमिकता समुदायको सरसफाइमा पनि दिनुपर्छ,” उनले जोड भने ।

पालिकाका रोजगार शाखा प्रमुख तथा वातावरणविद् मुमाराम भुसालले फोहोरमैला व्यवस्थापन तथा सरसफाइ रनिङ शिल्डसम्बन्धी प्रस्तुति दिनुका साथै पालिकाले हालसम्म गरेका कार्यहरूको जानकारी गराए ।

कार्यक्रममा वडाका जनप्रतिनिधि, टोल विकास संस्थाका अध्यक्षहरू, शिक्षक, स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका, बुद्धिजीवी तथा कर्मचारीहरूको उपस्थित रहेको थियो । कार्यक्रमको सहजीकरण खानेपानी तथा सरसफाइ शाखा प्रमुख गीता चौधरीले गरेकी थिइन् ।



प्रतिक्रिया दिनुहोस !