कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ
बझाङ । जयपृथ्वी नगरपालिका–१० चैनपुरस्थित पानकोट पुलबाट कुकुरलाई सेती नदीमा फाल्ने एक महिला पक्राउ परेकी छन्।
पानकोट पुलको पश्चिम किनारामा रहेको रेलिङको पाइपमुनिबाट एक महिलाले कुकुरलाई धकेलेर सेती नदीमा फालेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि घटनाको अनुसन्धान अघि बढाइएको थियो।
उक्त घटनासम्बन्धी अनुसन्धानका क्रममा कुकुरलाई पुलबाट फाल्ने महिला जिल्ला बझाङ, जयपृथ्वी नगरपालिका–३ पडेष गाउँ बस्ने ४२ वर्षीया बिमला देवी रोकाया रहेको खुलेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार रोकायालाई २०८३ साल असोज १ गते बेलुकी पक्राउ गरिएको हो। उनलाई पक्राउ गरी घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
घटनाको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि पशुपन्छीप्रति निर्दयी व्यवहार गरिएको भन्दै घटनाको अनुसन्धान र दोषीमाथि कारबाहीको माग उठेको थियो।
प्रहरीले घटनाको थप तथ्य तथा संलग्नताबारे अनुसन्धान जारी राखेको जनाएको छ।









