२ आश्विन २०८३, शुक्रबार

भोटेकोसी जलप्रलयमा ढुवानी क्षेत्र : ६ सय ७७ मजदुर सम्पर्कविहीन , ५ सय १५ ट्रकरकन्टेनर हराए

प्रकाशित मिति :  18 September, 2026 11:59 am


काठमाडौँ । भदौ १० को भोटेकोसी जलप्रलयले ढुवानी तथा ट्रक व्यवसायमासमेत ठुलो क्षति पुर्‍याएको प्रारम्भिक तथ्याङ्कले देखाएको छ ।

जलप्रलयका कारण ६ सय ७७ जना मजदुर सम्पर्कविहीन भएको र ५ सय १५ वटा ट्रक तथा कन्टेनर हराएको तथ्याङ्क सङ्कलन भएको छ ।

नेपाल ट्रक यातायात व्यवसायी महासङ्घले यातायात व्यवस्था विभागका महानिर्देशक राजीव पोखरेलको संयोजकत्वको समितिलाई उक्त तथ्याङ्क प्रस्तुत गरेको हो । बाढीबाट भएको मानवीय तथा भौतिक क्षतिको प्रारम्भिक विवरण प्रस्तुत गर्दै महासङ्घले सम्पर्कविहीन मजदुर र हराएका ट्रक तथा कन्टेनरको सङ्ख्या अझै बढ्न सक्ने जनाएको छ ।

भोटेकोशी बाढीबाट सार्वजनिक यातायात तथा ढुवानी क्षेत्रमा ठुलो क्षति पुगेकाले वास्तविक क्षतिको यकिन विवरण सङ्कलन गर्नुपर्ने महासङ्घको भनाइ छ ।

महासङ्घका अध्यक्ष राजेन्द्र विक्रम बानियाँले बाढीका कारण ढुवानी व्यवसायमा परेको क्षतिको यथार्थ मूल्याङ्कन गरी पीडित व्यवसायी तथा मजदुरलाई राहत र क्षतिपूर्तिको व्यवस्था गर्नुपर्ने बताएका छन् ।

ढुवानी व्यवसायी महासङ्घका उपाध्यक्ष अरुणकुमार श्रेष्ठले आफूहरूसँग भएको क्षतिको विवरण उपलब्ध गराएको जानकारी दिए । उनले बाढीले ठुलो क्षति पु¥याएको भन्दै ढुवानी क्षेत्र प्रभावित भएको बताए ।

बाढीबाट भएको मानवीय तथा भौतिक क्षतिको मूल्याङ्कन, क्षतिपूर्तिको आधार र अन्य सम्बन्धित विषयमा रायसहितको प्रतिवेदन तयार गर्न पूर्वाधार विकास मन्त्रालयले समिति गठन गरेको छ ।

मन्त्रालयले भदौ २६ गते मन्त्रीको अध्यक्षतामा यातायात व्यवसायी तथा सरोकारवालासँग भएको बैठकको निर्णयअनुसार यातायात व्यवस्था विभागका महानिर्देशक पोखरेलको संयोजकत्वमा समिति गठन गरेको हो ।

समितिलाई १५ दिनभित्र राय सुझावसहितको प्रतिवेदन मन्त्रीसमक्ष पेस गर्न जिम्मेवारी दिइएको छ ।

मन्त्रालयका अनुसार समितिले भोटेकोशी बाढीका कारण सार्वजनिक यातायात क्षेत्रमा भएको मानवीय तथा भौतिक क्षतिको विवरण संकलन गरी क्षतिपूर्ति निर्धारणका लागि आवश्यक आधारसमेत तय गर्नेछ ।



प्रतिक्रिया दिनुहोस !