माथिल्लो त्रिशूली थ्री ‘ए’को टनेलबाट ६ शव निकालियो
काठमाडौँ । माथिल्लो त्रिशूली थ्री ‘ए’ जलविद्युत् आयोजनाको टनेलबाट ६ वटा शव निकालिएको छ। नेपाली सेनाको संयुक्त उद्धार टोलीले टनेलभित्र खोजी गर्ने क्रममा ६ वटा शव फेला पारेको हो।
सैनिक मुख्यालय जंगी अड्डाका अनुसार टनेलभित्र ढलान गर्नका लागि बुनिएको डण्डीको जालीको भित्री भागमा अल्झिएको अवस्थामा ती शव फेला परेका हुन्। खोजीका क्रममा अडिट–३ टनेलभित्र डण्डीको जालीमा अल्झिएका अवस्थामा शव भेटिएको सेनाले जनाएको छ।
टनेलभित्र हिलोले छोपिएको अवस्थामा थप शवजस्तो आकृति समेत देखिएको सेनाले जनाएको छ। त्यस क्षेत्रमा थप खोजी तथा उद्धार कार्य जारी रहेको बताइएको छ।
उद्धार कार्यमा नेपाली सेना, अन्य सुरक्षाकर्मी तथा आयोजनाका प्रतिनिधिहरू समेत खटिएका छन्। टनेलको भित्री भागमा थप शव हुन सक्ने सम्भावनालाई ध्यानमा राख्दै खोजी कार्यलाई निरन्तरता दिइएको छ।
सेनाका अनुसार हालसम्म फेला परेका शवको पहिचान तथा विवरण संकलन गर्ने कार्य भइरहेको छ।









