माैसम अपडेट : हिमाली भू–भागमा हल्का हिमपातको सम्भावना, तराईमा हुस्सु–कुहिरोको प्रभाव
काठमाडौँ । हाल देशमा पश्चिमी वायु तथा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ, जसका कारण मौसममा विभिन्न परिवर्तनहरू देखिएको जल तथा मौसम विज्ञान विभागले जनाएको ।
मौसम पूर्वानुमान महाशाखाद्वारा आज बिहान जारी बुलेटिनअनुसार, कोशी प्रदेशसहित देशका अधिकांश पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहनेछ । बाँकी भू–भागमा आंशिक बदली रहनुका साथै मौसम मुख्य रूपमा सफा रहने अनुमान गरिएको छ ।
तराईका विभिन्न स्थानमा हुस्सु–कुहिरो लागेको छ, जसले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा आंशिक प्रभाव पार्न सक्ने विभागले जनाएको छ ।
यसैगरी, दिउँसोको समयमा पनि देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहनेछ भने अन्य ठाउँमा आंशिक बदली रहँदै मौसम सफा रहनेछ।
मौसम पूर्वानुमान अनुसार, कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ । साथै, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानहरूमा समेत हल्का हिमपातको सम्भावना रहेको छ ।
तराईका केही भू–भागहरूमा लागेको हुस्सु–कुहिरोले जनजीवनमा असर पार्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन मौसम विभागले अनुरोध गरेको छ । यसले स्वास्थ्य, सडक तथा हवाई यातायातमा असर गर्न सक्ने भएकाले सावधानी अपनाउन आग्रह गरिएको छ ।
यसरी हाल मौसम प्रणालीको प्रभावले देशका विभिन्न क्षेत्रमा भिन्न–भिन्न असर पार्ने देखिएको छ, जसअनुसार जनताले आवश्यक सतर्कता अपनाउनु पर्ने मौसम विभागको सुझाव छ ।








