१० चैत्र २०८१, सोमबार

विद्यालय शिक्षा विधेयक र निजामति कर्मचारी विधेयक चालु अधिवेशनबाटै पारित गर्ने सत्तापक्षको तयारी

प्रकाशित मिति :  16 February, 2025 11:26 am


काठमाडाैँ । सत्तापक्षीय प्रमुख सचेतकहरूको बैठकले संसदमा विचाराधिन विधेयकलाई छिटो पारित गर्नेगरी अघि बढ्ने निर्णय गरेको छ ।

आइतवार सिंहदरबारस्थित नेकपा एमालेको संसदीय दलको कार्यालयमा बसेको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै सत्तापक्षका प्रमुख सचेतक महेश बर्तौलाले संसदमा विचाराधिन विधेयकलाई अगाडि बढाउने विषयमा छलफल भएको बताए । उनले संसदमा पेश भएका अध्यादेशका सन्दर्भमा पनि केही छलफलहरू भएको जानकारी दिए ।

नेकपा एमालेका प्रमुख सचेतक समेत रहेका बर्तौलाले विगतका ४ वटा अधिवेशनमा पास भएका भन्दा बढी विधेयकहरु यस अधिवेशनबाट पारित गर्नेगरी अघि बढ्नुपर्नेमा सत्तापक्षका प्रमुख सचेतकहरुले जोड दिएको बताए। उनले विद्यालय शिक्षा विधेयक र निजामति कर्मचारी विधेयकलाई चालु अधिवेशनबाटै पारित गर्नेगरी अघि बढ्ने कुरामा सत्तापक्ष एक भएको बताए ।

बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेपाली काँग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले सत्ता पक्षका प्रमुख सचेतकहरूको बैठकले संसदमा विचाराधिन विधेयकहरू छिटो पारित गरी कानूनी रुप दिने र आउने विधेयकलाई पनि छिटो पारित गर्नेगरी प्रक्रिया अघि बढाउने बारेमा छलफल भएको बताए ।

उनले विधेयक पारित गर्ने प्रक्रिया सुस्त भएकोप्रति आफूहरु पनि चिन्तित रहेको उल्लेख गर्दै अब तिब्रता दिने निर्णय भएको बताए । उनले चालु अधिवेशनबाटै विद्यालय शिक्षा विधेयक र निजामति कर्मचारी विधेयकलाई पारित गर्नेगरी अघि बढ्ने निस्कर्षमा आफूहरु पुगेको बताए । उनले अध्यादेश ६ गतेको बैठकमा पेश गर्नेकुरा सरकारको तर्फबाट आएको भएपनि सांसदहरु संघीय राजधानी बाहिर गएकाले केही समय सार्न आग्रह गरेको बताए ।



प्रतिक्रिया दिनुहोस !