व्यङ्ग्यः मालिकले खाएपछि नोकरले खानु पर्छ

हिजो र अस्ती जबर्जस्त दुईओटा समाचारहरुकाे चर्चा चुलियाे । पहिलो रु.१ करोड ८४ लाखको राष्ट्रपति कार्यालयमा नयाँ कार्पेट र मर्मतस्भारको लागि र पुल्चोकस्थित मन्त्री निवासमा आधुनिक सुविधा सम्पन्न जिमहलको निर्माणको लागि रु.८२ लाखको सूचना।

राष्ट्रको इज्जत जोडिएको राष्ट्रपति भवन र जनताको इज्जत जोडिएको मन्त्रीको इज्जतको सम्मान त गर्नै पर्यो । सरकारलाई धन्यबाद ।

म सानो हुँदा म हजुर बा सँग बस्थ्येँ । म ६/७ वर्षको हुँदा मेरो हजुर बुवा स्वर्गवास हुनुभयो । त्यो मेरो कमोल मानसपटलमा एउटा छाप बडो गज्जब तरिकाले बसेको छ । अहिले पनि मेरो हजुरबाले भन्नु भएको कुरा याद छ ।

उहाँ भन्नु हुन्थ्यो,’हामीले जहिले पनि खाने वेलामा पहिला मालिकलाई खुवाउनु पर्छ अनि मात्र हामीले खानुपर्छ ।’ तर मैले सोध्थ्येँ हाम्रो मालिक को हो ? जवाफमा भन्नु हुन्थ्यो,’ हाम्रो मालिक देवता हुन । हामी देवताको नोकर हौँ र अलिकति भए पनि पहिले उसलाई चढाएर मात्र हामीले खानुपर्छ ।’

त्यसैले सधै मेरो हजुर बाले खानुभन्दा पहिले सानो कचौरामा खाना राखेर छेउमा राख्नु हुन्थ्यो र त्यो खाना कहिले विरालोले खान्थ्यो त कहिले चल्ला (कुखुरा)लाई दिइन्थ्यो ।

हाम्रा नेताहरुले जनतालाई देवता भन्ने गर्छन कहिले काहिँ ! उनीहरु भन्छन् हामी जनताका नोकर हौँ । गज्जव हो । उनीहरुको यो सदासयता र जनताप्रतिको इमान्दारीता यो शब्दमा मज्जाको चुट्किला झै लाग्छ । आजभोलि पनि कता कता हाम्रा मन्त्रीहरु र प्रधानमन्त्रीज्यूले पनि यो शब्दको झुक्किएर प्रयोग गर्नु हुन्छ । मलाइ लाग्छ यो शब्दको प्रयोग पछि सायद बेलुका सुत्ने वेलामा सुनपानीले छर्किनु हुन्छ होला ।

अहिले विश्व माहामारीको रुपमा फैलिएको कोरना भाइरस अर्थात निर्जिव तत्वले झन्दै ६५ लाखलाई सङ्क्रमण गरेको छ भने करिब ३ लाख ८३ हजार मान्छेहरुको मृत्यु गराइ सकेको छ । नेपालमा त जम्मा २ हजार जना त हो अहिलेसम्म । त्यसमा ८ जनाको मृत्यु कोरोनाले छुएरमात्र हो मेरेको त अरु नै कारण हो । कोहि मृगौला पिडित थिए त कोहिको मृत्यु सुत्केरि भएको अवस्थामा भएको थियो ।

नेपालमा कोरनाको प्रभाव बढि रहेको छ । विश्वभरिमा छरिएर रहेका नेपालीहरुमा आफ्नो घर फर्किन आतुर छन् । उनीहरुको लागि बन्दाबन्दीको पुर्वाधारहरु बनाउने स्रोत छैन । राहात कोषमा करिब ३ अर्व पैसा त छ जम्मा । त्यो त राख्नु पर्यो नि पछिको लागि ! त्यो पैसा त चलाउने कुरै भएन ।

सरकारको बजेटमा लेखेकै छ स्वास्थ्य क्षेत्रको पुर्वाधार विकास र विस्तारमा ९० अर्वको पैसा । त्यसैबाट बनाउँला । अहिलेलाई विदेशबाट आएका जनताहरुलाई भैसी गोठ, छाउ गोठ, सरकारी विद्यालयमा राखौँ । त्याँहा पनि न अटेमा पहरामा राखौँ तर पैसा त खर्च गर्नुहुँदैन भविष्यमा महामारी आउँन सक्छ ।

अहिले सरकारको राजश्व कम उठेको छ त्यसैले महलमा नयाँ कर्पेटमात्र फेरौँ । जिमहल मात्र बनाऔँ । पानी जहाज नभएको कार्यालयलाई २ करोडको गाडि मात्र किनौँ । सरकारी स्कुललाई बन्दाबन्दिगृह बनाएर निजी स्कुलमात्र खोलौँ । नीजि अस्पताललाई अनुदान दिएर सरकारी अस्पतालमात्र चलाऔँ । चकलेटमा कर घटाउँ कृषि र विद्युतीय साधनमा कर थपौँ र विद्युतमा आत्मनिर्भर बनौँ ।

हामी जनताका शासक होइनम् नोकर हो । जनता हाम्रा देवता हुन् । त्यसैले त हामी उनीहरुको जीवनको सुरक्षको लागि भारतबाट तरकारी मगाउँछौँ र नेपालको लोकल तरकारीमा कोरना हुनसक्छ भनेर खाल्डाेमा हालेर नष्ट गर्छौँ ।

उनिहरु हाम्रा मालिक हुन त्यसैले पहिले उनिहरुले खानु पर्छ र अनि हामीले । अहिले थ्याक्क त्यै भएको छ जुन मेरो हजुर बुवाले गर्नु हुन्थ्यो । थोरै सानो कचौरामा राखेर छुट्याइदिने र आफुँ चाहि एक थाल खाने । मेरा हजुर बा क्या बाठा है अहिलेका नोकरहरु भन्दा पनि ?