माैसम अपडेट : देशभर बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । देशका अधिकांश भूभागमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव परिरहेको छ। विशेषगरी सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा सामान्यदेखि पूर्ण बदली रहेको छ भने बाँकी भूभागमा पनि आंशिक बदली देखिएको छ।
जल तथा मौसम विज्ञान पूर्वानुमान महाशाखाका अनुसार सुदूरपश्चिम र कर्णाली प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको छ ।
दिउँसो पनि यी क्षेत्रका पहाडी भागहरूमा हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ भने लुम्बिनी, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही तराई क्षेत्रहरूमा समेत मेघगर्जन र चट्याङसहित वर्षा हुन सक्ने अनुमान गरिएको छ।
साथै, गण्डकी, सुदूरपश्चिम र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको छ। महाशाखाका अनुसार आज राति पनि यी प्रदेशका पहाडी भूभागमा सामान्यदेखि पूर्ण बदली कायम रहनेछ।
आगामी २४ घण्टामा विशेषगरी कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ। साथै, लुम्बिनी, गण्डकी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा पनि केही स्थानमा हल्का वर्षा हुन सक्छ।
महाशाखाले हिमपातका कारण दैनिक जनजीवन, स्वास्थ्य, कृषि, यातायात तथा हवाई सेवामा असर पर्न सक्ने भन्दै सबैलाई सतर्कता अपनाउन आग्रह गरेको छ।