नेपाल खुला विश्वविद्यालयद्वारा ११ औँ ‘हिमालयन नलेज कन्क्लेभ’ आयोजना हुने

काठमाडाैँ । नेपाल खुला विश्वविद्यालयले अन्य विश्वविद्यालय तथा शैक्षिक संस्थाहरूको सहकार्यमा “११ औँ स्नातक सम्मेलन– हिमालयन ज्ञान सम्मेलन (एचकेसी) २०२५” आयोजना गर्ने भएको छ।
सम्मेलनका सचिव सत्यराम सुवालका अनुसार “दिगोपनतर्फः शिक्षा, प्रविधि र वातावरणीय एकीकरणका प्रवृत्तिहरू सामाजिक–आर्थिक वृद्धिका लागि” विषयवस्तुमा केन्द्रित उक्त सम्मेलन आगामी अप्रिल ५ देखि ६ (चैत्र २३–२४), २०२५, दुई दिनसम्म काठमाडौँमा सञ्चालन हुनेछ।
नेपाल सरकारको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको संरक्षणमा आयोजना हुने वार्षिक सम्मेलनमा विभिन्न विश्वविद्यालय, कलेज तथा शैक्षिक संस्थाका स्नातक विद्यार्थी तथा युवा अनुसन्धानकर्ताहरूले भाग लिन सक्नेछन्।
अग्रणी विश्वविद्यालय तथा अनुसन्धान संस्थाहरूसँगको सहकार्यमा हुने यो सम्मेलनले विद्यार्थीहरूलाई आफ्नो अनुसन्धान प्रस्तुत गर्ने, ज्ञान आदान प्रदान गर्ने तथा शिक्षा, प्रविधि र सामाजिक–आर्थिक वृद्धिका विषयमा छलफल गर्ने अवसर प्रदान गर्नेछ।