१३ बैशाख २०८२, शनिबार

सिमेन्ट र फलामको अस्वाभाविक मूल्यवृद्धिविरुद्ध बागमती निर्माण व्यवसायी महासंघको विरोध

प्रकाशित मिति :  26 March, 2025 11:42 am


काठमाडौँ । बागमती प्रदेश निर्माण व्यवसायी महासंघले निर्माण सामग्री विशेष गरी सिमेन्ट र फलामजन्य उत्पादनमा भइरहेको अस्वाभाविक मूल्यवृद्धिको विरोध गर्दै प्रेस विज्ञप्ति जारी गरेको छ। महासंघका अनुसार कुनै पनि कच्चा पदार्थमा मूल्यवृद्धि नभए पनि कालोबजारी र कार्टेलिङ गरी दुई महिनाको अवधिमा पटक–पटक सिमेन्टको मूल्य प्रतिबोरा रु.३०० सम्म वृद्धि गरिएको छ।

महासंघले सरोकारवाला निकायहरूसँग छलफलपछि मूल्यवृद्धि खारेज गर्ने सहमति भए पनि हालसम्म कार्यान्वयन नहुँदा निर्माण उद्योग थप संकटमा परेको जनाएको छ। साथै, सिमेन्टसँगै निर्माणमा अत्यधिक प्रयोग हुने फलाम (डण्डी) र फलामजन्य सामग्रीमा प्रतिकेजी रु. १४ सम्म मूल्यवृद्धि हुँदा निर्माण व्यवसायीहरू भुक्तानी अभावसहितका समस्यामा परेका छन्।

महासंघले यस किसिमको मूल्यवृद्धिलाई खुला अर्थतन्त्रको नीतिविपरीत ठहर गर्दै सरकारबाट निर्माण व्यवसायीहरूमाथि अन्यायपूर्ण व्यवहार भएको आरोप लगाएको छ। सार्वजनिक पूर्वाधार निर्माणको खर्च वृद्धि भई राज्यलाई थप आर्थिक बोझ पर्ने स्पष्ट भए पनि सरकारले आवश्यक कदम नचालेको महासंघको भनाइ छ। महासंघले मूल्यवृद्धिमा संलग्न निकायहरूलाई कारबाही गर्नुको सट्टा सम्बन्धित मन्त्रीहरूले नै मूल्यवृद्धिलाई समर्थन गरिरहेको आशंका व्यक्त गरेको छ।

महासंघले मूल्यवृद्धिको कडा विरोध गर्दै कालोबजारी तथा कार्टेलिङमा संलग्न उद्योग व्यवसायीहरूलाई कारबाही गर्न माग गरेको छ। साथै सिमेन्ट, फलाम (डण्डी) र फलामजन्य सामग्रीको आयातमा शून्य भन्सार दरको व्यवस्था गर्न नेपाल सरकारलाई आग्रह गरेको छ। मूल्यवृद्धिविरुद्ध सशक्त आन्दोलन गर्न महासंघले निर्माण व्यवसायीहरू तथा आम उपभोक्ताहरूलाई पनि आह्वान गरेको छ।



प्रतिक्रिया दिनुहोस !