काठमाडौँमा गणतन्त्र पक्षधर र राजतन्त्र पक्षधरबीच प्रदर्शन हुँदै

काठमाडौँ । राजधानी काठमाडौँमा आज गणतन्त्र पक्षधर र राजतन्त्र पक्षधरबीच आमनेसामने प्रदर्शन हुँदैछ । पुराना पञ्च नेता नवराज सुवेदीको नेतृत्वमा राजतन्त्र पक्षधरहरूले प्रदर्शन गर्न लागेका छन् भने पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधव नेपाल र नेत्रविक्रम चन्द ‘विप्लव’को नेतृत्वमा गणतन्त्र पक्षधरको प्रदर्शन हुने भएको छ।
दुवै पक्षका प्रदर्शनको पृष्ठभूमि
राजतन्त्र पुनर्स्थापनाको माग गर्दै राजतन्त्र पक्षधरहरूले आन्दोलन चर्काइरहेका छन् । यही क्रममा सुवेदी नेतृत्वमा ‘तेस्रो जनआन्दोलन संयोजन समिति’ गठन गरी आन्दोलन अघि बढाइएको हो । उक्त समितिको ब्यानरमा प्रदर्शन अघि बढेपछि गणतन्त्र पक्षधर समाजवादी मोर्चाले काउन्टर प्रदर्शनको निर्णय गरेको हो ।
२५ फागुनमा राजतन्त्र पक्षधरहरूले काठमाडौंमा प्रदर्शन गरेका थिए। त्यसको विरोधस्वरूप समाजवादी मोर्चाले आजको प्रदर्शन तय गरेको थियो तर गणतन्त्र पक्षधरहरूको प्रदर्शनलाई काउन्टर गर्न सुवेदी नेतृत्वको समितिले पनि आजै अर्को प्रदर्शनको घोषणा गरेको छ ।
प्रदर्शन स्थल र सुरक्षा व्यवस्था
सरकारले राजतन्त्र पक्षधरहरूलाई तीनकुनेमा प्रदर्शन गर्न अनुमति दिएको छ भने गणतन्त्र पक्षधरहरूले भृकुटीमण्डपमा प्रदर्शन गर्ने निर्णय गरेका छन् । सम्भावित भिडन्त रोक्न दुवै पक्षलाई छुट्टाछुट्टै स्थान दिइएको सुरक्षा निकायले जनाएको छ।
सुरक्षालाई मध्यनजर गर्दै ४,५०० सुरक्षाकर्मी परिचालन गरिएको छ। विशेष संवेदनशील क्षेत्रका लागि १,२०० भन्दा बढी प्रहरी ‘हाई अलर्ट’ मा राखिएको छ। साथै, ड्रोन र सीसीटीभी क्यामेराबाट जुलुसको निगरानी गरिने भएको छ ।
सम्भावित चुनौती र संयमको अपील
राजतन्त्र पक्षधरहरूको आन्दोलनले अशान्ति सिर्जना गर्न सक्ने भन्दै गणतन्त्र पक्षधरहरूले संयमित रहनुपर्ने आवाज उठिरहेको छ । सुरक्षाकर्मीहरूले दुबै पक्षबीच भिडन्त हुन नदिने गरी रणनीतिक तवरले व्यवस्थापन गर्न प्रयास गरिरहेको जनाइएको छ।