२० मंसिर २०८२, शनिबार

समाजवादी मोर्चाद्वारा राजावादी गतिविधिको भर्त्सना, अराजकताको संज्ञा

प्रकाशित मिति :  28 March, 2025 8:15 pm


काठमाडौँ । राजावादी र गणतन्त्र पक्षधरहरूको प्रदर्शनका क्रममा राजावादी समूहबाट उच्छृङ्खल गतिविधि भएको भन्दै समाजवादी मोर्चाले त्यसलाई अराजकताका रूपमा व्याख्या गरेको छ।

शुक्रबार आयोजित प्रदर्शनका क्रममा राजावादीहरूले तोडफोड र आगजनी जस्ता हिंसात्मक गतिविधि गरेको भन्दै मोर्चाले विज्ञप्ति जारी गरी घोर भर्त्सना गरेको छ।

समाजवादी मोर्चामा आबद्ध दलका शीर्ष नेताहरूले संयुक्त विज्ञप्ति जारी गर्दै राजावादी समूहको गतिविधि अस्वीकार्य भएको बताएका छन्। नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, नेपाल समाजवादी पार्टीका अध्यक्ष महेन्द्रराय यादव र नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दले संयुक्त विज्ञप्ति जारी गर्दै यस्तो धारणा व्यक्त गरेका हुन्।

विज्ञप्तिमा राजावादी आन्दोलनमा संलग्न आपराधिक तथा आततायी तत्वहरूलाई तत्काल कानुनी दायरामा ल्याई कडाभन्दा कडा कारबाही गर्न सरकारसँग माग गरिएको छ।

‘‘यस कार्यमा संलग्न आपराधिक र आततायी तत्वलाई यथाशीघ्र कानुनी कारबाही गर्न माग गर्दछौं’‘, विज्ञप्तिमा उल्लेख छ, ‘‘राजनीतिक दलको कार्यालय तथा नागरिकको जनधनको सुरक्षा सुनिश्चित गर्न सरकारसँग आग्रह गर्दछौं ।’‘

समाजवादी मोर्चाका अनुसार, प्रदर्शनका क्रममा नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय काठमाडौं जिल्ला कार्यालय, अध्यक्ष माधवकुमार नेपालका भाइ सरोज नेपालको निजी निवास तथा विभिन्न स्थानहरूमा तोडफोड र आगजनीका घटनाहरू भएका छन्।

विज्ञप्तिमा निजी तथा सार्वजनिक सम्पत्ति, सञ्चार गृह, र अन्य स्थानहरूमा तोडफोड तथा आगजनी हुनु निन्दनीय भएको उल्लेख गर्दै यस्ता गतिविधिलाई नियन्त्रण गर्न सरकारलाई कडा कदम चाल्न आग्रह गरिएको छ।

समाजवादी मोर्चाले पुनरुत्थानवादी तथा उच्छृङ्खल प्रतिगामी तत्वहरू अराजकता मच्चाउँदै अघि बढेको निष्कर्ष निकालेको छ।



प्रतिक्रिया दिनुहोस !