२० मंसिर २०८२, शनिबार

संघीय संसदअन्तर्गत आज दुवै सदनको बैठक बस्दै : विभिन्न विधेयकहरू टेबुल गरिने

प्रकाशित मिति :  30 March, 2025 10:19 am


फाइल फाेटाे।

काठमाडौँ । संघीय संसदअन्तर्गत प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठक आज बस्दैछ। बिहान ११ बजे बस्ने प्रतिनिधि सभाको बैठकमा विभिन्न विधेयकहरू टेबुल गरिने कार्यसूची रहेको छ ।

प्रतिनिधि सभामा बैंकिङ्ग कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८० राष्ट्रिय सभाबाट प्राप्त सन्देश सहित टेबुल गरिनेछ। त्यस्तै, पूर्वाधार विकास समितिका सभापति दीपकबहादुर सिंहले जलस्रोत विधेयक, २०८१ सम्बन्धी समितिको प्रतिवेदन पेश गर्नेछन् ।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडीले मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) (पहिलो संशोधन) विधेयक, २०८१ लाई प्रतिनिधि सभामा प्रस्तुत गर्न अनुमति माग्नेछन् ।

कानून, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले नेपाल कानून व्यवसायी परिषद् (दोस्रो संशोधन) विधेयक, २०८१ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यक्रम छ ।

यसैगरी, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले निकासी पैठारी (नियमन) विधेयक, २०८१ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाउन प्रस्ताव राख्नेछन् ।

ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले नविकरणीय ऊर्जा तथा ऊर्जा दक्षता सम्बन्धी विधेयक, २०८१ लाई दफावार छलफलका लागि पठाउन प्रस्ताव पेश गर्नेछन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७९ माथि छलफल गरियोस् भन्ने प्रस्ताव पेश गर्नेछन् । साथै, उक्त विधेयकलाई पारित गरियोस् भन्ने प्रस्ताव पनि पेस हुनेछ।

यसैबीच, राष्ट्रिय सभाको बैठक पनि आज बिहान सवा ११ बजे बस्दैछ । राष्ट्रिय सभामा विभिन्न विधेयकहरू टेबुल गरिने कार्यसूची रहेको छ ।



प्रतिक्रिया दिनुहोस !