राजावादीहरूको प्रदर्शनबारे सांसद बस्नेतको टिप्पणीः कहिले जुलुस निस्केला र लुट्न पाइएला भनेर बसेको देखियो

काठमाडाैँ । नेपाली काँग्रेसका सांसद मोहनबहादुर बस्नेतले सरकारको कमजोरीको कारण राजावादीको प्रदर्शन अराजकतामा परिणत हुँदा पनि प्रहरी निरिह बन्नुपरेको बताएका छन् ।
आइतवार संघीय संसदको परिसर नयाँ बानेश्वरमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उनले राजावादी समूहका प्रदर्शनकारीहरू कहिले जुलुस निस्केला र लुटौंला भनेर बसेको देखिएको बताएका हुन् । उनले राजावादीहरू राजनीतिक इच्छाका कारण नभई धमिलो पानीमा माछा मार्ने उद्देश्यले प्रदर्शन गरिरहेको तर्क गरे । उनले मान्छे नै मार्ने र निजी सम्पतीमा आगजनी तथा लुटपाट भएको अवस्थामा प्रहरीले साइत हेरेर बस्न नहुने बताए ।
“तीनकुनेमा जुलुस निक्लिने, भाटभटेनीमा लुटपात मच्चिने ! कहिले जुलुस निस्केला र लुट्न पाइएला भनेर हेरिबसेको देखिएन ? देखियो नि । त्यो त नेतृत्वले जिम्मा लिनुपर्छ नि । त्यसकारण राजनीतिक इच्छाका कुराले भन्दापनि धमिलो पानीमा माछा मार्ने उद्देश्यका साथ गतिविधि अघि बढेको त देखियो नि । त्यसकारणले राज्यको उपस्थिति पनि कमजोर देखियो । प्रहरीहरू निरिहजस्तो देखियो । आदेश चाहियो नि । सार्वजनिक सम्पतीमा आगजनी भइसक्यो, मान्छे मर्न थालिसके, लुटपाट भइराछ भनेपछि प्रहरीले साइत हेरेर बसेर हुन्छ ?,”उनले भने ।