राष्ट्रियसभाको बैठक सुरु, महत्वपूर्ण विधेयकमाथि छलफल प्रस्ताव

काठमाडौँ । राष्ट्रियसभाको आजको बैठक सुरु भएको छ। बैठकमा विभिन्न महत्वपूर्ण विधेयकमाथि दफावार छलफल र पारित गर्ने प्रस्तावहरू प्रस्तुत गरिने कार्यसूची रहेको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीले ‘सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१’ माथि दफावार छलफल गर्न प्रस्ताव प्रस्तुत गरे । साथै, सोही विधेयक पारित गरियोस् भन्ने प्रस्ताव पनि बैठकको कार्यसूचीमा समावेश गरिएको छ।
यसैगरी, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘सहकारीसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१’ माथि छलफल र पारित गर्ने प्रस्ताव प्रस्तुत गर्नेछन्।
उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ‘आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) विधेयक, २०८१’ माथि दफावार छलफल गर्न प्रस्ताव गर्नेछन् । साथै सो विधेयक पारित गरियोस् भन्ने प्रस्ताव पनि प्रस्तुत हुनेछ।
त्यस्तै, अर्थमन्त्री पौडेलले ‘निजीकरण (पहिलो संशोधन) विधेयक, २०८१’ तथा ‘आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१’ माथि छलफल र पारित गर्ने प्रस्ताव प्रस्तुत गर्नुहुने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ।
बैठकमा प्रस्तुत गरिने विधेयकहरू सुशासन प्रवर्द्धन, सहकारी सुधार, आर्थिक व्यवस्थापन र लगानी प्रवद्र्धन जस्ता विषयसँग सम्बन्धित रहेकाले तीमाथि गम्भीर छलफल हुने अपेक्षा गरिएको छ।