तीनकुने घटना र प्रेस स्वतन्त्रता हनन सम्बन्धमा नेपाल पत्रकार महासंघले गर्यो सम्पादकहरूसँग छलफल

काठमाडाैँ । राजावादी प्रदर्शनका क्रममा काठमाडौंको तीनकुनेमा पत्रकार सुरेश रजकलाई जलाएर हत्या गरिएको र प्रेस स्वतन्त्रता हननका सम्बन्धमा नेपाल पत्रकार महासंघले सम्पादकहरूसँग छलफल गरेको छ ।
सोमवार नेपाल पत्रकार महासंघको केन्द्रिय कार्यालयमा भएको छलफलमा सम्पादकहरुले दिवंगत रजकलाई न्याय दिन महासंघले नेतृत्व लिनुपर्ने बताएका छन् ।
घट्नाको सत्यतथ्य छानविन गरी संलग्नलाई कानूनअनुसार कारबाही गर्न महासंघले दबाब दिनुपर्ने उनीहरूको भनाइ छ । छलफल अनलाइनखबर डटकमका सम्पादक वसन्त बस्नेतले राजावादीहरूको आन्दोलन लोकतान्त्रिक र शान्तीपूर्ण ढंगले गरिएको आन्दोलन नभएको बताए ।
उनले मुलुकको व्यवस्थाको साँचो सुम्पिनको लागि अगाडि सारिएका पात्रहरूमा कुनै इमान्दारिता नभएको कारण प्रदर्शन हिंस्रक भएको बताए । उनले आन्दोलनको नेतृत्वलाई लक्षित गर्दै गुणस्तरहिन सामान ल्याएर घर बनाउने खोजे जस्तो भएको टिप्पणी गरे ।
उनले दुर्गा प्रसाईंको बल्खु आन्दोलनबाट नै तीनकुनेमा शान्तीपूर्ण आन्दोलन नहुने अनुमान गरिएपनि राज्य संयन्त्र चुकेको बताए । उनले अगामी दिनमा हुने आन्दोलनहरूमा पत्रकारहरूको सुरक्षाको सुनिश्चितता गर्न समेत आग्रह गरे । पछिल्लो समय समाचार संकलनमा जाने पत्रकारहरूमाथि असुरक्षा बढ्दै गएको उल्लेख गर्दै उनले महासंघ गम्भिर हुन जरुरी रहेको बताए
नेपाल पत्रकार महासंघका महासचिव रामप्रसाद दाहालले सुरेश रजकको न्यायको लागि आवश्यक पहल भइरहेको बताए ।उनले सम्पादकहरुको सुझाव र सल्लाका आधारमा महासंघ अघि बढ्ने विश्वास दिलाए ।