२९ मंसिर २०८२, सोमबार

व्यवस्था र संविधानविरुद्धका गतिविधिहरूलाई नजिकबाट नियालिरहेका छौँः अध्यक्ष दाहाल

प्रकाशित मिति :  27 April, 2025 4:14 pm


काठमाडाैँ । राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले व्यवस्था र संविधानविरुद्ध देखिएका गतिविधिहरूलाई नजिकबाट नियालिरहेको बताउँदै राष्ट्रिय सभा गम्भीर बन्नुपर्नेमा जोड दिएका छन् ।

आइतवार राष्ट्रिय सभाको बैठकमा बोल्दै अध्यक्ष दाहालले नेपाली जनताको ठूलो त्याग र बलिदानबाट प्राप्त व्यवस्था र संविधानका विरुद्ध देखा परेका गतिविधिहरूप्रति चिन्ता व्यक्त गरेका हुन् । उनले समयमा आवश्यक कानुन निर्माण गर्न नसक्दा सडकमा ऐन–कानूनको माग गर्दै विभिन्न प्रकारका आन्दोलनहरू भइरहेका भन्दै त्यसप्रति गम्भीर ध्यान दिनुपर्ने बताए ।

अध्यक्ष दाहालले निर्माण गर्नुपर्ने कानुनहरू यथासम्भव छिटो टुंग्याएर सडकमा व्यक्त असन्तुष्टिका आवाजहरू सम्बोधन गर्नुपर्नेमा जोड दिए । सुशासन कायम गर्न साझा पहलकदमी र प्रतिबद्धता आवश्यक रहेको उल्लेख गर्दै उहाँले जनताले अपेक्षा गरेका सेवा प्रवाहका विषयहरूमा गम्भीरतापूर्वक विचार विमर्श गरी निष्कर्षमा पुग्नु राष्ट्रिय सभाको जिम्मेवारी र कर्तव्य भएको स्पष्ट पारे ।

उनले भने, “नेपाली जनताको ठुलो त्याग र बलिदानबाट प्राप्त व्यवस्था र संविधानकै विरुद्धमा देखिएका गतिविधिहरूलाई हामीले नजिकबाट नियालिरहेका छौँ। यस सन्दर्भमा सिङ्गो राष्ट्रिय सभा नै गम्भीर बन्न आवश्यक ठानेको छु।”

अध्यक्ष दाहालले निजामती सेवा विधेयक, विद्यालय शिक्षा विधेयक लगायतका महत्त्वपूर्ण कानुनहरू राष्ट्रिय सभामा प्राप्त हुनासाथ कारबाही अघि बढाइने र समयमै पारित गरिने विश्वास पनि व्यक्त गरे ।



प्रतिक्रिया दिनुहोस !