२० मंसिर २०८२, शनिबार

ओडिसाको केआईआईटीमा फेरी नेपाली छात्राको रहस्यमय मृत्यु

प्रकाशित मिति :  2 May, 2025 10:47 am


काठमाडौँ । भारतको ओडिसा राज्यमा रहेको कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (किट) विश्वविद्यालयमा अध्ययनरत एक अर्की नेपाली छात्रा मृत अवस्थामा फेला परेकी छिन् । बिटेक प्रथम वर्षमा अध्ययनरत पर्साको वीरगन्जकी १९ वर्षीया प्रिसा साह विश्वविद्यालयको होस्टेलमा झुण्डिएको अवस्थामा फेला परेकी ओडिसा प्रहरीले जनाएको छ ।

साढे दुई महिना अघि किटमै अध्ययनरत रुपन्देहीकी २० वर्षीया प्रकृति लम्साल मृत फेला परेकी थिइन् ।

दिल्लीस्थित नेपाली दूतावासका काउन्सिलर सञ्जीव शर्मा दासले पनि विश्वविद्यालयको छात्रावासस्थित आफ्नै कोठामा प्रिसा मृत फेला परेको खबर प्राप्त भएको पुष्टि गरे । प्रिसाले आत्महत्या गरेको र ओडिसा प्रहरीले घटनाको अनुसन्धान थालेको जानकारी प्राप्त भए पनि विस्तृत कारण खुल्न नसकेको दासले बताए ।

भारतीय सञ्चारमाध्यमले उल्लेख गरेअनुसार होस्टेल प्रशासनले हाजिर लिने क्रममा क्रममा बिहीबार साँझ साढे सात बजे उनी बस्ने १११ नम्बर कोठाको ढोका ढकढकाउँदा पनि खुलेन । त्यसपछि बलपूर्वक ढोका खोलेर प्रवेश गर्दा उनी झुन्डिएको अवस्थामा फेला परेकी हुन् ।

परिवारका सदस्य आएपछि मात्र पोस्टमार्टमको लागि अस्पताल लैजाने गरी प्रहरीले शव सुरक्षित राखेको दूतावासले जानकारी दिएको छ ।

परराष्ट्रले थाल्यो कुटनीतिक पहल

परराष्ट्रमन्त्री आरजु राणा देउवाले किट विश्व विद्यालयमा अध्ययनरत प्रिसा शाह मृत्यु प्रकरणले मर्माहत भएको बताएकी छन् । साथै उनले परराष्ट्र मन्त्रालयले भारत सरकार, ओडिसा सरकारका उच्च अधिकारीहरु र दिल्लीस्थित नेपाली दूतावास मार्फत घटनाको सत्य तथ्य छानविन गर्न कूटनीतिक पहल थालेको जनाएकी छन् ।

उनले सामाजिक सञ्जालमा एक स्टाटस राख्दै परराष्ट्र मन्त्रालयले भारत सरकार, ओडिसा सरकारका उच्च अधिकारीहरु र दिल्लीस्थित नेपाली दूतावास मार्फत घटनाको सत्य तथ्य छानविन गर्न कूटनीतिक पहल थालेको जनाएकी छन् ।



प्रतिक्रिया दिनुहोस !