सापकोटाको टिप्पणी : नीति तथा कार्यक्रमले जनताको आशा जगाउन सकेन
काठमाडौँ । पूर्वसभामुख तथा नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष अग्निप्रसाद सापकोटाले सरकारले ल्याएको नीति तथा कार्यक्रमले जनतामा आशा र उत्साह जगाउन नसकेको टिप्पणी गरेका छन् ।
नीति तथा कार्यक्रम सार्वजनिकीकरणपछि सञ्चारकर्मीहरूसँग संक्षिप्त प्रतिक्रिया दिँदै उनले प्रस्तुत दस्तावेज परम्परागत भएको र वर्तमान तथा भविष्यप्रति कुनै स्पष्ट मार्गचित्र प्रस्तुत गर्न नसकेको बताए ।
‘नीति तथा कार्यक्रम परम्परागत छ, अतीतमुखी छ। यसमा अहिलेको आवश्यकतालाई सम्बोधन गर्ने स्पष्ट योजना छैन, भविष्यका सम्भावनाहरूको मार्गचित्र पनि छैन,’ सापकोटाले भने, ‘‘यो अलिक सारसंग्रहजस्तो छ, जसले जनतालाई आशावादी बनाउँदैन ।‘’
उनले नीति तथा कार्यक्रममा उल्लेख गरिएका कतिपय विषयलाई ब्यङ्ग्य गर्दै “अनुगमनको पनि अनुगमन” जस्ता कुरा समावेश गरिएको टिप्पणी गरे ।
सापकोटाका अनुसार यो दस्तावेज निरन्तरताको शृङ्खलामा सामान्यत: आएको भए पनि त्यसमा कुनै मौलिकता र नवीन दृष्टिकोण देखिँदैन। ‘‘हुन त सुशासन आयोग प्रधानमन्त्रीकै अध्यक्षतामा बनाउने भनिएको छ तर यो पनि प्रतिवेदन लेख्ने नाममा अलपत्र पर्ने हो कि भन्ने चिन्ता छ,‘’ उनले थपे ।
उनले समग्र नीति तथा कार्यक्रम जनअपेक्षा र देशको वर्तमान चुनौतीसँग सुसंगत नदेखिएको भन्दै आलोचना गरेका हुन् । सरकारले आर्थिक वर्ष २०८२/८३ का लागि ल्याएको नीति तथा कार्यक्रम संघीय संसद्मा राष्ट्रपति रामचन्द्र पौडेलमार्फत प्रस्तुत भएको थियो।








