प्रेस स्वतन्त्रताको रक्षार्थ सञ्चार क्षेत्र निर्भय रहोस्-राष्ट्रपति पौडेल
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली सञ्चार क्षेत्र संविधान प्रदत्त अधिकारको पूर्ण प्रयोग र रक्षार्थ निर्भयपूर्वक लागिरहने विश्वास व्यक्त गरेका छन् ।
विश्व प्रेस स्वतन्त्रता दिवस (मे ३) का अवसरमा शनिबार शुभकामना सन्देश जारी गर्दै राष्ट्रपति पौडेलले प्रेस स्वतन्त्रता लोकतन्त्रको आधारस्तम्भ भएको उल्लेख गरे । ‘‘स्वतन्त्र र निष्पक्ष पत्रकारिताका लागि लोकतन्त्र अनिवार्य सर्त हो’‘, सन्देशमा भनिएको छ, ‘‘प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता लोकतन्त्रको मेरुदण्ड हो, जसको अभ्यासले जनताको सुसूचित हुने हक सुनिश्चित हुन्छ ।‘’
राष्ट्रपतिले निरङ्कुश शासनको अन्त्य र संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापनामा प्रेस जगत्को भूमिका निर्णायक रहेको उल्लेख गर्दै त्यसको ऐतिहासिक योगदानप्रति सम्मान प्रकट गरे ।
‘‘प्रेसले लोकतन्त्रका लागि भएका आन्दोलनहरूमा महत्वपूर्ण भूमिका निर्वाह गरेको तथ्य हामी सबैलाई विदितै छ’, सन्देशमा भनिएको छ, ‘‘यसले शासन प्रणालीलाई पारदर्शी र उत्तरदायी बनाउन महत्त्वपूर्ण योगदान दिएको छ।’‘
राष्ट्रपतिले तटस्थ, स्वतन्त्र र सबल पत्रकारिता लोकतान्त्रिक व्यवस्थाको सुदृढीकरणका लागि अनिवार्य भएको उल्लेख गर्दै यस्तो अभ्यासका लागि आवश्यक वातावरण निर्माण गर्नु सबैको साझा जिम्मेवारी भएको धारणा राखे ।
उनले अफवाह र भ्रामक सूचनाको बढ्दो प्रवाहप्रति चिन्ता व्यक्त गर्दै तथ्यमा आधारित पत्रकारिताले सत्यको अन्वेषण र सम्प्रेषण गर्न अझ मिहिनेत गर्नुपर्ने बताए।
‘‘बढ्दो सामाजिक सञ्जालको प्रयोगबाट मिथ्या सूचना प्रवाह हुने चुनौती बढ्दो छ,‘’ राष्ट्रपति पौडेलले भने, ‘‘त्यस्ता चुनौतीबीच सत्य, तथ्य र विश्वसनीय सूचना प्रवाह गर्नु सञ्चारमाध्यमको महत्त्वपूर्ण जिम्मेवारी हो ।’‘
राष्ट्रपतिले बहुलवादी पत्रकारिता अभ्यासले सबै वर्ग, समुदायको आवाज मुखरित गराउने उल्लेख गर्दै त्यसका माध्यमबाट नागरिकले सबै प्रकारका समाचारमा सहज पहुँच पाउने विश्वास व्यक्त गरे ।
‘‘सूचना सङ्कलनदेखि प्रवाहसम्मको सम्पूर्ण प्रक्रिया निर्वाधरूपमा सञ्चालन गर्न पाउनु नै सही अर्थमा प्रेस स्वतन्त्रता हो’‘, राष्ट्रपति पौडेलले सन्देशमा उल्लेख गरेका छन् ।
देश अहिले आर्थिक रूपान्तरणमार्फत समृद्धिको दिशामा अघि बढिरहेको उल्लेख गर्दै राष्ट्रपतिले नेपाली सञ्चार क्षेत्र त्यसैअनुसार केन्द्रित हुने अपेक्षा पनि व्यक्त गरे ।
‘‘राज्यका तीनवटै अङ्ग सजग र सतर्कतापूर्वक कार्य सम्पादन गरून्,‘’ उनले शुभकामना व्यक्त गर्दै भने, ‘आमनागरिकलाई सत्य सूचना सम्प्रेषणमा सञ्चार क्षेत्र सफल रहोस् ।‘’
यससँगै विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरले नेपाली प्रेसलाई थप ऊर्जा, हौसला र उत्प्रेरणा प्रदान गरोस् भन्ने कामनासमेत राष्ट्रपतिले गरेका छन् ।








