२१ मंसिर २०८२, आइतबार

राजावादीको वितण्डा जनताले परास्त गरे-अध्यक्ष दाहाल

प्रकाशित मिति :  3 May, 2025 7:55 pm


काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादी नेतृत्वको जनप्रदर्शनले राजावादी शक्तिको चलखेल र षड्यन्त्रलाई परास्त गरेको दाबी गरेका छन् ।

शनिबार काठमाडौंमा आयोजित तामाङ मुक्ति मोर्चाको वागमती प्रदेशस्तरीय प्रथम अधिवेशनलाई सम्बोधन गर्दै उनले प्रतिगामी शक्तिहरू पुनः सक्रिय हुन खोजेकाले आवश्यक परे फेरि आन्दोलन गर्नुपर्ने अवस्था आउन सक्ने चेतावनी दिए ।

‘‘काठमाडौँमा राजावादी वितण्डा देखिएपछि हामी सबै एकजुट भएर सडकमा उत्रियौँ,‘’ अध्यक्ष दाहालले भने, ‘‘जनताको ठूलो ताकत र हाम्रो पार्टी तथा समाजवादी मोर्चाको सहभागिताले अहिलेका लागि त्यसलाई परास्त गर्‍यौं तर फेरि वितण्डा गर्न सक्ने सम्भावना कायमै छ, त्यसको जिम्मा पनि हाम्रो हो ।’‘

दाहालले शान्ति प्रक्रियापछिको समयमा माओवादी पार्टीको जनवर्गीय संगठनहरूसँगको सम्बन्ध कमजोर हुँदै गएकाले पार्टी कमजोर बन्न पुगेको स्वीकार गरे ।

पार्टी कमजोर हुँदा संघीय गणतन्त्र धरापमा पर्न सक्ने अवस्था आएको भन्दै उनले पछिल्लो कार्यकालमा आफूले त्यसलाई सच्याउन भ्रष्टाचारविरुद्ध अभियान थालेको बताए ।

उनले भने, ‘‘हामीले पार्टी समीक्षामा महशुस गर्‍यौं, वर्ग, जाति, समुदायसँगको सम्बन्ध शान्ति प्रक्रियापछि पनि मजबुत बनाइराख्नुपर्ने थियो, तर त्यहाँ कमजोरी भयो । त्यसको असर हाम्रो आन्दोलन र एजेन्डामा देखियो ।’‘

प्रचण्डले अबको अभियान माओवादी केन्द्रलाई बलियो बनाउनेतर्फ केन्द्रित हुने स्पष्ट पारे । ‘‘२०८४ को निर्वाचनमा माओवादी केन्द्रलाई एक नम्बरको पार्टी बनाउने लक्ष्य लिएका छौं,’ उनले भने, ‘समाजवादी क्रान्तिको आधार निर्माण गर्ने यथार्थमा हामी जुटिसकेका छौं ।’‘

उनले पार्टीमा आबद्ध सबै जनवर्गीय, जातीय र क्षेत्रीय संगठनहरूलाई शक्ति सञ्चय गर्दै आन्दोलनका लागि तयार रहन आह्वान गरे । संसद, सडक र जनताको बीचबाट प्रतिगमनविरुद्ध निरन्तर खबरदारी गरिरहनु पर्ने धारणा उनले दोहोर्‍याए ।

‘‘प्राप्त उपलब्धि खोस्ने षड्यन्त्र भइरहेको छ, त्यसलाई गतिलो जवाफ दिन हामी तत्पर छौं,‘’ प्रचण्डले भने, ‘‘संघीय गणतन्त्रको रक्षा हाम्रो कर्तव्य हो । त्यसका लागि जरुरी परे फेरि आन्दोलन गर्न पछि हट्दैनौं ।’‘

उनले सामाजिक न्याय, सुशासन र समावेशीतालाई सुदृढ गर्दै जनताको भरोसा कायम राख्नुपर्नेमा जोड दिए । ‘‘हामीले जनताको आशा जगाउने रेकर्ड बनाउने संकल्प गरेका छौं,’‘ उनले निष्कर्ष सुनाए, ‘‘सामाजिक विभेदविरुद्ध नयाँ आन्दोलन सुरु गर्ने समय आएको छ ।’‘



प्रतिक्रिया दिनुहोस !