२१ मंसिर २०८२, आइतबार

गृहमन्त्रीकाे प्रहरीलाई निर्देशन-अपराध अनुसन्धानको दायरा नयाँ किसिमले अघि बढाउनूस्

प्रकाशित मिति :  4 May, 2025 12:30 pm


काठमाडौँ । गृहमन्त्री रमेश लेखकले बदलिंदो समाजसँगै अपराधका नयाँ रूपहरू थपिएको उल्लेख गर्दै अपराध अनुसन्धानको दायरा फराकिलो बनाउन निर्देशन दिएका छन् ।

आइतबार काठमाडौँमा आयोजित ‘नेपाल प्रहरी स्टाफ कोर्स’ को उद्घाटन समारोहमा बोल्दै गृहमन्त्री लेखकले परम्परागत अनुसन्धान पद्धतिले अहिलेको जटिल अपराध समाधान गर्न सम्भव नहुने भन्दै नयाँ प्रविधिको प्रयोगमार्फत अनुसन्धान प्रणालीलाई अझ परिस्कृत गर्नुपर्नेमा जोड दिए ।

“२५–३० वर्षअघिको भन्दा अहिलेको अनुसन्धान प्रणाली निकै सुधारिएको छ, वैज्ञानिकता र प्रमाणिकता बढेको छ,” गृहमन्त्री लेखकले भने, “तर अहिलेको प्रविधिमैत्री अपराधका स्वरूपहरू हेर्दा त्यत्तिले पुग्दैन, अनुसन्धानको दायरा अझै फराकिलो बनाउनु जरुरी छ।”

उनले प्रहरीलाई कानून कार्यान्वयनको महत्वपूर्ण संयन्त्रका रूपमा परिभाषित गर्दै बदलिंदो समयमा आफूलाई तदनुकूल रूपान्तरण गर्न सक्नुपर्ने धारणा राखे ।

गृहमन्त्री लेखकका अनुसार पछिल्लो समय अपराधमा वित्तीय ठगी, डिजिटल अपराध, साइबर क्राइम, सूचना सुरक्षामाथिका आक्रमण लगायतका नयाँ आयाम थपिँदै गएका छन्। “मोबाइलबाटै अपराध हुने अवस्था आएको छ, डिजिटल युगले अवसरसँगै जोखिम पनि बढाएको छ,” उनले भने ।

प्रहरी अनुसन्धानमा विगतमा देखिने लापरबाही क्रमशः कम हुँदै गएको बताउँदै उहाँले प्रमाणमा आधारित अनुसन्धानले अदालतमा न्याय सुनिश्चित गर्न सहयोग पुगेको उल्लेख गरे ।

सो अवसरमा गृहमन्त्री लेखकले नेपाल प्रहरीले थालनी गरेको स्टाफ कोर्सलाई यस्ता चुनौतीहरूको प्रभावकारी सम्बोधन गर्न सक्ने उपायको रूपमा लिनुपर्ने धारणा व्यक्त गरे । “यस्ता कोर्सहरूले नयाँ चुनौती चिर्न आवश्यक दक्षता र क्षमता विकास गर्न मद्दत पुर्‍याउँछन्,” उनले भने ।

नेपाल प्रहरीमा पहिलोपटक सुरु भएको ‘लिडरसिप एण्ड स्टाफ कोर्स’ अन्तर्गत प्रारम्भिक चरणमा १७ जना प्रहरी नायब उपरीक्षक (डीएसपी) ले प्रवेश परीक्षा उत्तीर्ण गरेका छन् । २०७० सालमा प्रहरी निरीक्षकमा भर्ना भएका अधिकृतहरूको समूहबाट कोर्स सुरु भएको हो।

तीन सेमेस्टरमा सम्पन्न हुने कोर्सलाई आगामी दिनमा बढुवासम्बन्धी मापदण्डसँग समेत जोडिने तयारी गरिएको छ । प्रस्तावित विधेयक पारित भएमा स्टाफ कोर्स पास नगरी प्रहरी अतिरिक्त महानिरीक्षक (डीआईजी) मा पदोन्नति नपाउने प्रावधान लागू हुनेछ । प्रहरी उपरीक्षक (एसपी) र वरिष्ठ उपरीक्षक (एसएसपी) को पदमा पनि कोटा विभाजन गरिने छ।

गृहमन्त्री लेखकले अपराध नियन्त्रण र शान्ति सुरक्षाको प्रत्याभूति गर्न प्रहरी अनुसन्धानमा गुणस्तर, प्रमाणिकता र नवीन सोच आवश्यक भएको उल्लेख गर्दै प्रहरी संगठनको कार्यप्रणालीलाई समयसापेक्ष बनाउन आग्रह गरे ।



प्रतिक्रिया दिनुहोस !