अध्यक्ष दाहालको टिप्पणीः दुई तिहाइको अहङ्कारको बेलुन फुटिसकेको देख्छु
काठमाडाैँ । प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले दुई तिहाइ सरकारको अहङ्कारको बेलुन फुटिसकेको टिप्पणी गरेका छन् ।
प्रतिनिधि सभामा सोमवार आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि छलफल गर्न बसेको बैठकमा भाग लिँदै उनले सरकारले महिना दिन बितिसक्दा पनि नेपाल राष्ट्र बैङ्कमा गभर्नर नियुक्त गर्न नसकेको भन्दै आफूले दुई तिहाइको अहङ्कारको बेलुन फुटिसकेको देखेको टिप्पणी गरेका हुन् ।
उनले सरकार बनेको दश महिना पुग्दा पनि सुध्रिन नचाहेको बताए । उनले वर्तमान सरकार सरकार सुध्रिनको लागि गठन नभएको र एउटा निश्चित वर्गको स्वार्थको लागि बनेको आरोप लगाए ।
उनले सरकार सञ्चालन संयन्त्रका सदस्यहरूले बिचौलियाहरू प्रधानमन्त्रीको शयन कक्षसम्मै पुग्छन् भन्ने दिएको अभिव्यक्तिले सरकार निश्चित वर्गको स्वार्थको बनेको पुष्टि हुने धारणा राखे । उनले हरेक नियुक्ति र निर्णयहरूमा स्वार्थी समूह हाबी भएको बताउँदै जनताले सेवा प्रवाह सहज रूपमा पाउन नसेको बताए ।
अध्यक्ष दाहालले सरकार बनेको १० महिना बितिसक्दा पनि लोकका अगाडी गरिएको ७ बुँदे सहमति कार्यान्वयनतर्फ कसैको ध्यान नगएको बताए ।








