भारततर्फ हिँडेका बर्दियाका गैँडा र उनीहरूको हराउँदै गएको घरको कथा

दाङ । “गैँडा छन् तर छैनन्।” बर्दिया राष्ट्रिय निकुञ्जका संरक्षणकर्मीहरू यतिबेला यस्तै चुप्पीमा छन् । करीब पाँच महिनाअघि भारतको कतरनियाघाट वन्यजन्तु आरक्षतर्फ गएका बर्दियाका गैँडा अझै नफर्किँदा, एउटा निश्चिन्त भूगोलको शान नै हराउँदै गएको छ।
गैँडाको पलायन
सन् २०२१ मा बर्दिया राष्ट्रिय निकुञ्जमा ३८ ओटा गैँडा थिए । त्यसयता बाघको आक्रमण र प्राकृतिक कारणले तीनको मृत्यु भयो । त्यसो त बर्दियामा सन् १९८६ देखि नै चितवनबाट स्थानान्तरण गरिएको १०० भन्दा बढी गैँडाको वंश छ तर अहिले, यो गणना आफै अपूरो छ । किनकि-गैँडा छन् कि छैनन् भन्ने आँकडा बुझ्न गरिने वार्षिक गणना आर्थिक अभावका कारण स्थगित भएको छ ।
त्यसैबीच, गैँडाको जत्था वासस्थानको खोजीमा भारततिर गयो । भारततिर पुगेका गैँडामध्ये केही अझै उतै छन्। केही फर्किए कि भन्ने अनुमान छ तर पुष्टि छैन । संरक्षणकर्मीहरू अझै “हामी अनुमान गरिरहेका छौँ” भन्ने वाक्यमै अड्किएका छन् ।
पानी खाेज्दै भारत पसे गैँडा
बर्दिया निकुञ्जभित्रको गेरुवा नदी सुक्न थालेपछि सुरु भएको हो–गैँडाको असन्तुष्टि । गैँडालाई आवश्यक पर्ने प्राकृतिक घोल, खोला, नदी, घाँसे मैदान–सबै धमिलिँदै, सुक्दै गए । निकुञ्जले १८२ ओटा कृत्रिम पोखरी बनाए पनि त्यो प्रयाप्त भएन । गेरुवा नदीमा नहर बनाएर पानी खसालियो तर त्यो पनि ‘अस्थायी मलहम’ जस्तै भयो ।
त्यसैबीच, भारतले कतरनियाघाटमा पानी पोखरी, घाँसे मैदान, सुरक्षित वासस्थान निर्माण गर्यो अनि नेपालका गैँडाहरू सीमा नाघेर त्यता पुगे । शायद उनीहरूले पनि भने– “हाम्रो देशमा त आकाश मात्र छ, जमिन छैन।”
गणना रोकिनु भनेको संरक्षणको आँखा बन्द हुनु हो
बर्दिया निकुञ्जका सूचना अधिकारी सरोजमणी पौडेल भन्छन्, “गणना रोकिएको छ। त्यसैले यकिन भन्न सकिएको छैन कि कति गैँडा छन् ।”
तर संरक्षण भने आँकडामा मात्र टाँसिएर बस्ने कुरा होइन। जब गैँडालाई बाँच्न पानी चाहिन्छ, घाँस चाहिन्छ र सहजरूपमा बग्न सक्ने घर चाहिन्छ-त्यतिबेला बजेटको बहानाले संरक्षण रोकिनु भनेको, नीति नै गैँडा पलायन गराउने योजनाकार हुनु हो ।
गैँडाको सन्तुलन : एउटा राष्ट्रको आन्तरिक गहना
बर्दियामा एक समय १०० भन्दा बढी गैँडा थिए । तीमध्ये ३६ चोरीसिकारबाट र २४ प्राकृतिक कारणले मरे तर पछिल्लो १५ वर्षमा चोरीसिकार शून्य छ। प्रश्न उठ्छ- जब मानिस गैँडालाई नमार्ने भए, के अब प्रकृतिको अभावले मर्नु गैँडाको भाग्य हो ?
भारतले बनायो, नेपालले हेर्यो ?
संरक्षणकर्मी रामबहादुर शाही स्पष्ट बोल्छन्-“भारतले वासस्थान बनायो, नेपालले नजरअन्दाज गर्यो ।” भारतले गैँडाका लागि प्रलोभन जस्तै वातावरण बनाउँदा, नेपालका गैँडा स्वेच्छाले उता लागे । नेपालले तिनलाई फर्काउन पानी ल्याउने अल्पकालीन योजना त बनायो, तर दीर्घकालीन सोच अझै हराएको छ ।
गैँडालाई फर्काउन आग्रह होइन, कार्यान्वयन चाहिन्छ। कृत्रिम पोखरी, नहर, हरियाली, घाँसे मैदान, नक्सा मात्र होइन, राजनीतिक इच्छाशक्ति पनि । किनकि गैँडा कुनै जङ्गली जनावर मात्र होइन- यो नेपालको वन–सम्पदाको गौरव हाे ।