प्रधानमन्त्री ओलीद्वारा मिडियाको भाषिक प्रयोगप्रति असन्तुष्टि
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली मिडियाले प्रयोग गरिरहेकै भाषाले नेपाली भाषाको गरिमा र स्तर घटाएको गुनासो गरेका छन् ।
गोरखापत्र दैनिकको १२५ औँ वार्षिकोत्सवको अवसरमा बुधबार आयोजित विशेष समारोहमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नेपाली भाषामा रहेको समृद्ध परम्परा र गहिरो संस्कारलाई संरक्षण गर्न मिडिया स्वयं जिम्मेवार हुनुपर्ने बताए ।
उनले पछिल्लो समय मिडियामा सम्मानजनक शब्दहरूको सट्टा अनावश्यक रूपमा सरल, तल्लो स्तरको तथा अंग्रेजी भाषाको नक्कल शैलीमा लेखन र भाषण भइरहेकोप्रति असन्तोष व्यक्त गरे ।
भाषाको उदाहरण दिँदै उनले भने, “राजा हुँदा सवारी हुन्थ्यो, ज्यूनार हुन्थ्यो, श्रवण हुन्थ्यो । अहिले भने राष्ट्रपतिले भने, राष्ट्रपतिले उद्घाटन गरे भनेर लेखिन्छ। यो नेपाली भाषा होइन। नातिसँग कुरा गरेर राष्ट्रपति उद्घाटन गर्छन् भन्ने भाषाले संस्कार गुमाउँदै छ ।”
प्रधानमन्त्री ओलीले नेपाली संस्कारमा ‘तपाईं’, ‘हजुर’, ‘उहाँ’ जस्ता सम्मानयुक्त शब्दहरू प्रयोग हुने परम्परा रहेको भन्दै ‘तिमी’, ‘यु’ आदि शब्द सबैका लागि प्रयोग गर्न मिल्ने भए हजुरबुबा र नातिलाई एउटै शैलीमा बोल्नु उचित नहुने जिकिर गरे ।
उनले भने, “यु भनेपछि हजुरबुबा पनि भयो, नाति पनि भयो । त्यो पो नक्कल गर्नुपर्छ हाम्रोमा भनेर? जो भाषामा गरिब छ, त्यसले हाम्रो भाषामा उँचाइ छुन सकेन भनेर हामीले कद घटाउने भाषाको ?”
प्रधानमन्त्री ओलीले नेपाली भाषा विश्वकै एक समृद्ध भाषा भएको दाबी गर्दै यसमा अनगिन्ती सम्मानार्थी शब्द, रूप, लवज, उच्चारण र गहिरो सांस्कृतिक अर्थ रहेको स्मरण गराए ।
प्रधानमन्त्री ओलीले गोरखापत्र दैनिकले विगतदेखि नै नेपाली भाषाको शुद्धता, शैली र परम्परालाई संरक्षण गर्दै आएको उल्लेख गर्दै अहिले पनि भाषिक आन्दोलनमा अगाडि रहनुपर्नेमा जोड दिए । उनले भने, “हाम्रो भाषिक आन्दोलनलाई बचाउने कुरामा गोरखापत्र अगाडि छ। अरू मिडियाले पनि यसको अनुकरण गर्नुपर्छ ।”
प्रधानमन्त्रीको यो अभिव्यक्तिले मिडियामा प्रयोग भइरहेको भाषिक शैलीबारे बहस सिर्जना गरेको छ । उनको सन्देश स्पष्ट छ-नेपाली पत्रकारिता केवल सूचना प्रवाहको माध्यम मात्र होइन, भाषा र संस्कारको संवाहक पनि हो। त्यसैले, मिडिया संस्थाहरूले नेपाली भाषाको गरिमा कायम राख्ने जिम्मेवारी बिर्सन नहुने उनको आग्रह थियो।








