श्रृंगेरीका ३७औं शंकराचार्यको नेपाल भ्रमणः पशुपतिनाथदेखि मुक्तिनाथसम्मको आध्यात्मिक यात्रा
काठमाडौँ । दक्षिणाम्नाया श्री श्रृंगेरी शारदा पिठमका ३७औं जगद्गुरु शंकराचार्य श्री विदुशेखर भारती महास्वामीजी आगामी जेठ ८ देखि १० गतेसम्म नेपाल भ्रमणमा आउने भएका छन् ।उनले नेपालमा रहँदा प्रमुख हिन्दू तीर्थस्थलहरूमा दर्शन तथा धार्मिक अनुष्ठानहरू सम्पन्न गर्ने कार्यक्रम रहेको छ ।
महास्वामीजीले पशुपतिनाथ मन्दिरमा पूजा–आराधना गर्ने, मुक्तिनाथ धामको यात्रा गर्ने तथा रुपन्देहीको सिद्धबाबा र कामाख्या देवी मन्दिरमा दर्शन गरी आशीर्वाद प्रदान गर्ने कार्यक्रम तय गरिएको छ ।
शंकराचार्यको यस भ्रमणलाई नेपालका धार्मिक वृत्तले ऐतिहासिक महत्वको रूपमा लिएका छन् । यसले भक्तजनहरूलाई आध्यात्मिक अनुभूति दिलाउने र नेपाल–भारतबिचको धार्मिक सम्बन्धलाई थप सुदृढ बनाउने विश्वास गरिएको छ ।
भारतको कर्नाटक राज्यस्थित श्रृंगेरी शारदा मठ हिन्दू धर्मको एक प्राचीन तथा प्रतिष्ठित संस्था हो, जसको स्थापना ८औं शताब्दीमा आदि शंकराचार्यले अद्वैत वेदान्तको प्रचारप्रसारका लागि गरेका थिए । श्रृंगेरी मठका शंकराचार्यहरूलाई सनातन धर्ममा सर्वोच्च आध्यात्मिक गुरुका रूपमा सम्मान गरिन्छ ।
मठले वेद, उपनिषद्, योग, संस्कृत अध्ययन तथा अध्यात्म शिक्षाको विकासमा विशेष योगदान पुर्याउँदै आएको छ । तुङ्गा नदीको किनारमा अवस्थित यस मठमा स्थापित देवी शारदा ९सरस्वती० को मन्दिरलाई ज्ञानकी देवीको रूपमा पूजिन्छ ।
यसअघि पनि श्रृंगेरीका शंकराचार्यहरू नेपाल भ्रमणमा आइसकेका छन् । ३४औं जगद्गुरु श्री श्री भारती कृष्ण तीर्थ महास्वामीजीले १९५०–६० को दशकमा पशुपतिनाथ, मुक्तिनाथ, लुम्बिनी लगायतका तीर्थस्थलको भ्रमण गरेका थिए ।
त्यसैगरी ३५औं जगद्गुरु श्री अभिनव विद्यातीर्थ महास्वामीजीले १९७०–८० को दशकमा काठमाडौं र पोखराका विभिन्न मन्दिरमा पूजा गरेका थिए भने ३६औं जगद्गुरु श्री भारती तीर्थ महास्वामीजीले २०१२ मा नेपाल भ्रमण गरी पशुपतिनाथ मन्दिरमा विशेष पूजा सम्पन्न गराएका थिए ।
यसरी, ३७औं जगद्गुरु श्री श्री विदुशेखर भारती महास्वामीजीको यो भ्रमणले श्रृंगेरी मठ र नेपालबिचको दीर्घकालीन धार्मिक सम्बन्धलाई थप सुदृढ बनाउने अपेक्षा गरिएको छ








