२९ मंसिर २०८२, सोमबार

यथास्थिति भत्काएर समाजवादी क्रान्तिको दिशातर्फ अघि बढ्दै छौं-अध्यक्ष दाहाल

प्रकाशित मिति :  10 May, 2025 11:14 am


काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशको विद्यमान यथास्थितिलाई भत्काउँदै समाजवादी रुपान्तरणको दिशामा अघि बढिरहेको बताएका छन्।

शनिबार पार्टी केन्द्रीय कार्यालय, पेरिसडाँडामा आयोजित निर्मल लामा स्मृति दिवसमा सम्बोधन गर्दै अध्यक्ष दाहालले फेरि विचार, मुद्दा, वर्ग र समुदायलाई केन्द्रमा राख्दै क्रान्तिकारी यात्रालाई समाजवादी क्रान्तिमा रूपान्तरण गर्ने अभियानमा आफूहरू समर्पित रहेको स्पष्ट गरे ।

“हामी यथास्थिति भत्काउँदै रुपान्तरणसहित समाजवादको दिशातर्फ अघि बढ्दै छौं,” उनले भने, “अहिले फेरि कम्युनिष्ट आन्दोलनलाई क्रान्तिकारी आदर्श र निष्ठातर्फ लैजान आवश्यक भएको छ ।”

उनले राजनीतिक रुपमा प्रतिक्रियावादी र अवसरवादी शक्तिहरूले घेराबन्दी गर्ने, भ्रम फैलाउने र षड्यन्त्र रच्ने काम गरिरहेको आरोप लगाए। तरपनि यस्ता चुनौतीहरूका विरुद्ध दृढ सङ्कल्पसहित अगाडि बढ्ने प्रतिबद्धता पनि व्यक्त गरे ।

“देशमा आज जस्तो परिस्थिति छ, त्यहाँबाट क्रान्तिलाई समाजवादी रुपान्तरणतर्फ लैजानु अहिलेको आवश्यकता हो,” उनले भने।

नेताहरूको देवत्वकरण गर्नु नहुने उल्लेख गर्दै अध्यक्ष दाहालले नेताहरू र पार्टीहरूमा पनि सीमा र कमजोरीहरू हुने बताएका थिए। “महान लेनिनले भनेका छन्, सीमा र कमजोरी नभएको मानिस अहिलेसम्म जन्मिएको छैन,” उनले उद्धृत गरे, “तर सही नेताले कमजोरी नगर्न प्रयास गर्छ र भए सच्याउँछ-इतिहासले त्यहीँ नेतालाई महान् ठान्छ ।”

उनले समाजवादको बाटो बनाउन अविचलित भएर अघि बढ्नुपर्नेमा पनि जोड दिए । निर्मल लामा स्मृति दिवसको अवसरमा आयोजित उक्त कार्यक्रममा पार्टीका अन्य वरिष्ठ नेताहरूको उपस्थिति रहेको थियो ।



प्रतिक्रिया दिनुहोस !