नेता होइन, जनताको सोचमा परिवर्तन गर्नुपर्छ-सभामुख घिमिरे

काठमाडाैँ । सभामुख देवराज घिमिरेले नेता परिवर्तन गर्ने नभई जनताको सोचमा परिवर्तन हुन जरुरी रहेको बताएका छन् ।शनिबार सिंहदरबारमा पूर्व सांसद मञ्चले आयोजना गरेको नेपालको वर्तमान अवस्थाः चुनौति र समाधान विषयक एक दिने अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
सभामुख घिमिरेले यथार्थ के हो भन्ने बारे नेपाली जनताहरुले हेर्ने काम कम भइरहेको बताए । उनले कसैले बनाएको एउटा धारणालाई सही र गलत नछुट्याइ अघि बढ्ने परिपाटी विकसित भइरहेकोप्रति चिन्ता व्यक्त गरे ।
उनले यथार्थलाई बुझ्ने,बुझाउने र त्यसलाई लिएर अगाडि बढ्ने मानसिकता कम हुँदै गएको बताए । जनताको सोचमा परिवर्तन आउनुपर्ने समय आएको बताए ।
जनताको सोच व्यवहारमा परिवर्तन हुन नसक्दा र कुुप्रचारले महत्व पाएकाले सही विषय पनि गलत देखिन थालेको बताए । नेताको परिवर्तन प्रणालीले नै गरिरहेको पनि सभामुख घिमिरेले बताए ।
सभामुख घिमिरेले भने, “काठमाडौँको चैत्र १५ गतेको बिरोध प्रदर्शनको हत्या, हिंसा, आगजनी, लुटपाट, चोरी डकैतीको कुरालाई लिएर अहिले चर्चा छ । नेताको बिरुद्धमा र अहिलेको प्रणाली वा नीतिको बिरुद्धमा अभियान छ । यो संसदीय प्रणाली, वा शासन प्रणालीको बिरुद्धमा चर्चा चलिरहँदाखेरी एक जना कलाकारले नेता परिवर्तन होइन, जनता परिवर्तन गर्नुपर्छ भन्नेकुराहरु उठाएको छ । मलाई पनि त्यो कुराहरु सोच्नुपर्छ भन्ने लाग्छ”, उनले भने “यथार्थ के हो भन्नेकुरा नेपाली जनताहरुले हेर्ने काम कम भइरहेको छ । एउटा धारणा बनायो, त्यसलाई चर्चामा जाने कुरा गरिएको छ । व्यवस्था परिवर्तन भयो, अवस्था परिवर्तन भएन भन्ने व्यापक छ । आम जनतामै छ । आम रुपबाटै छ ।”
सभामुख घिमिरेले अहिले राजनीतिमा अस्थिरता रहेको बताए । देशमा बढिरहेको प्रणाली बिरुद्धको अभियानलाई जनताले निगरानीका साथ हेर्नुपर्ने र सजगताका साथ व्यवहार गर्नुपर्ने आवश्यकता रहेको बताए ।