२० मंसिर २०८२, शनिबार

कुलिङ पिरियडको अवधि र सेवाको उमेर हदमा देखिएको मतान्तरलाई सहमतिबाट टुंग्याउछौंः गृहमन्त्री लेखक

प्रकाशित मिति :  11 May, 2025 12:27 pm


काठमाडाैँ । गृहमन्त्री रमेश लेखकले संघीय निजामती सेवा विधेयक अन्तर्गत कुलिङ पिरियडको अवधि र सेवाको उमेर हदमा देखिएको मतान्तरलाई छलफलमार्फत सहमतिमा टुङ्ग्याइने बताएका छन्।

आइतबार सिंहदरबारमा बसेको प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै गृहमन्त्री लेखकले, ‘संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८०’ सम्बन्धमा अन्तिम मस्यौदा प्रतिवेदनमाथिको छलफलका क्रममा उक्त धारणा व्यक्त गरेका हुन्।

उनले कुलिङ पिरियड र सेवाको उमेर हदबाहेक अन्य सबै विषयमा सहमति भइसकेको जानकारी गराउँदै यी दुई विषयमा पनि सहमति नजिक पुगेको दाबी गरे। मन्त्री लेखकका अनुसार कुलिङ पिरियड राख्ने विषयमा कुनै विवाद छैन, तर त्यसको अवधि कति राख्ने भन्नेमा मात्र छलफल बाँकी छ।

त्यस्तै, निजामती सेवाको उमेर हद ५८ वर्षबाट ६० वर्षमा पुर्याउने विषयमा पनि सैद्धान्तिक सहमति रहेको उल्लेख गर्दै उनले विवाद चरणवद्ध रुपमा लैजाने तरिकामा मात्र रहेको स्पष्ट पारे।

गृहमन्त्री लेखकले विधेयक पारित गर्दा सहमतिमै पारित गर्नुपर्ने परम्परा रहेको उल्लेख गर्दै भने, “सम्मानित सदन र सरकारले एउटै धारणा निर्माण गर्नु पर्छ। छलफलबाटै सहमतिमा टुङ्ग्याउने हाम्रो परम्परा पनि छ। परिपक्व कानून र त्यसको ठिक कार्यान्वयनका लागि सहमति टुङ्ग्याउनु उचित हुन्छ।”

उनले विधेयकको प्रस्तोता सरकार भएकाले संसदभित्र सहमति जुटेमा विधेयक परिपक्व हुने र कार्यान्वयनमा पनि सहजता आउने विश्वास व्यक्त गरे।



प्रतिक्रिया दिनुहोस !