६ असार २०८२, शुक्रबार

युवा पलायन रोक्नु आजको प्रमुख चुनौती छः मुख्यमन्त्री लामा

प्रकाशित मिति :  11 May, 2025 6:19 pm


काठमाडाैँ । बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले युवा पलायनलाई रोक्नु आजको प्रमुख चुनौती भएको बताएका छन् । 

प्रदेश युवा परिषद् वागमतीको आयोजनामा आइतवारदेखि सुरू भएको प्रदेश युवा सम्मेलन २०८२ लाई उद्घाटन गर्दै मुख्यमन्त्री लामाले युवालाई रोजगारी र उत्पादनसँग आवद्ध गर्न प्रदेश सरकारले पर्याप्त मात्रामा लगानी गरिरहेको बताएका हुन् ।

मुख्यमन्त्री लामाले रोजगारीको नाममा धेरै युवाहरू विदेशी भुमिमा पसिना बगाउनुपरेको दृष्टान्त प्रस्तुत गर्दै ति युवाहरूले पठाएको रेमिट्यान्सले नै नेपालको अर्थतन्त्र धानेको बताए ।

स्वदेशमै रोजगारीको अवसर दिलाउन प्रदेश सरकारले कोसिस गरिरहेको समेत उनले दाबी गरे । मुख्यमन्त्री लामाले प्रदेश सरकारले सञ्चालन गर्ने युवा लक्षित कार्यक्रमहरू युवाहरूको भावना र आवश्यकताको जगमा बनेको जिकिर गरे । उत्पादन र रोजगारी वृद्धि गर्न कृषिमा आधुनिकीकरण र युवाको संलग्नता नै मुख्य सवाल भएको उनको भनाइ छ । 

मुख्यमन्त्री लामाले युवाहरूको नेतृत्व विकास गरी शासकीय जिम्मेवारी बहन गर्न सक्षम बनाउनु आजको आवश्यकता भएको समेत उल्लेख गरे । युवाहरूलाई नीति निर्माण र नेतृत्व तहमा आकर्षित गर्नु जरुरी भएको उनको भनाइ छ । शासकीय संरचनाको केन्द्रमा युवाहरूलाई उचित स्थान दिएमात्रै नागरिकको विकास र समृद्धिको आकंक्षा पूरा हुने समेत उनले उल्लेख गरे ।



प्रतिक्रिया दिनुहोस !