६ असार २०८२, शुक्रबार

पर्यटन क्षेत्रमा आन्तरिक तथा वाह्य लगानी भित्र्याउन हरेक स्थानीय तहले पहल गर्नुपर्छ: अध्यक्ष ढकाल

प्रकाशित मिति :  12 May, 2025 6:42 pm


काठमाडाैँ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले पर्यटनको विकास र प्रवर्धन क्षेत्रमा निजी क्षेत्रले चमत्कार गर्नसक्ने दाबी गरेका छन् ।

सोमवार नवलपुरको गैँडाकोटमा निर्माण गरिएको इला होटल तथा आइएमई हस्पिटालिटीको उद्घाटन कार्यक्रममा बोल्दै उनले नेपालको निजी क्षेत्र पर्यटनमा चमत्कारिक रुपमा विकास गर्न सक्षम भएको जिकिर गरेका हुन् ।

उनले नेपालमा भएका प्राकृतिक सम्पदामा इच्छाशक्ति र प्रविधि जोडेर पर्यटकीय पूर्वाधार निर्माण गर्नुपर्नेमा जोड दिए । उनले नेपालमा पर्यटकीय पूर्वाधारको कमीका कारण विदेशी पर्यटकको खर्च तथा बसाइ अवधि छोटिएको बताए । विदेशी पर्यटक नेपालमा औसत १२ दिन बस्ने र दैनिक ५० डलरभन्दा कम खर्च गर्ने गरेको उनको भनाइ छ ।

उनले पर्यटकले गर्ने खर्च र बसाइ अवधि लम्ब्याउन ठूला पूर्वाधार निर्माण गर्नुपर्ने बताए ।उनले नेपाल सरकारले निजी क्षेत्रसँग सहजीकरण र साझेदारीको नीति लिन सके पर्यटकीय क्षेत्रबाट छिट्टै आर्थिक विकास गर्न सक्ने बताए ।

अध्यक्ष ढकालले पर्यटकीय पूर्वाधारमा सरकारले उचित नीतिको वातावरण बनाए निजी क्षेत्रले पर्यटन क्षेत्रमा ठूलो लगानी गरी आर्थिक वृद्धिमा सरकारलाई सहयोग गर्ने बताए । उनले पर्यटन क्षेत्रमा आन्तरिक तथा वाह्य लगानी भित्र्याउन हरेक स्थानीय तहले पहल गर्नुपर्ने बताए ।

सरकारले लगानी गर्न लगानीकर्तालाई आह्वान गर्ने गरेको तर उपयुक्त वातावरण निर्माण गर्न नसकेको उनको भनाइ छ । उनले सरकारले निजी क्षेत्रलाई साझेदारीको रुपमा स्वीकार गरेर व्यावहारिक नीतिमार्फत सहजीकरण गर्नुपर्ने बताए ।

आइएमई ग्रुपको लगानीमा नवलपुरको गैँडाकोट नगरपालिकास्थित मौलाकालीमा इला होटल तथा रिसोर्ट सञ्चालनमा आएको छ । सातै प्रदेशमा केबलकार, होटल तथा रिसोर्टसहितको पर्यटकीय पूर्वाधार निर्माण गरिरहेको आइएमई ग्रुपले हालसम्म तीन वटा प्रदेशमा केबलकार निर्माण गरी सञ्चालनमा ल्याइसकेको छ ।



प्रतिक्रिया दिनुहोस !