केही भएन भनेर भ्रम फिँजाउनेहरू नेपाल विरोधी वर्ग हुन्ः मन्त्री खड्का
काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री दीपक खड्काले नेपालमा केही पनि भएन भन्ने नकारात्मक भाष्य फैलाउने वर्गलाई नेपाल विरोधी तत्वको संज्ञा दिएका छन् ।
सोमवार सिन्धुपाल्चोकको मेलम्ची र हेलम्बु क्षेत्रको स्थलगत अनुगमन गर्दै मन्त्री खड्काले २०७८ असार १ गतेको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रमा सरकार गम्भीर भएको बताएका हुन् । उनले बाढीपीडित क्षेत्रमा पुनर्निर्माणको कार्यलाई प्राथमिकताका साथ अघि बढाइएको र प्रभावित जनताका लागि स्थायी समाधानतर्फ सरकार केन्द्रित भएको स्पष्ट पारे ।
मेलम्ची र हेलम्बुको बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणसँगै सिंचाई पूर्वाधार विस्तारमा पनि सरकारले योजना अघि बढाएको मन्त्री खड्काले जानकारी दिए। इन्द्रावती गाउँपालिकास्थित भीमटारका २२ वटा टारमा इन्द्रावती नदीको पानी ल्याएर सिंचाई गर्ने विस्तृत परियोजना अगाडि बढाइएको बताउँदै उनले सिंचाईको व्यवस्थापछि सिन्धुपाल्चोक जिल्लालाई खाद्यमा आत्मनिर्भर बनाउने लक्ष्य लिएको बताए ।
“हामीले काम गरिरहेका छौं, तर केही भएन भन्ने भ्रम फैलाइँदैछ,” मन्त्री खड्काले भने,”त्यस्तो भ्रम फैलाउने वर्ग नेपाल विरोधी हो। उनीहरूले नेपालको अर्थतन्त्र बिगार्ने प्रयास गरिरहेका छन्। त्यसप्रति हामी सबै सचेत रहनुपर्छ।”
उनले देश निर्माण आफैंले गर्नुपर्ने बताउँदै सकारात्मक सोचका साथ काम गर्न सबैलाई आग्रह गरे । उनका अनुसार सिंचाई सुविधा, तटबन्धन, कुलो निर्माण, जलाशयमार्फत हाइड्रोपावर उत्पादन, र खानेपानी वितरणसम्मका काम क्रमशः अघि बढाइनेछ।
“डिपिआर तयार पारौं, क्रमागत रूपमा काम गरौं,” मन्त्री खड्काले भने, “पानीको अधिकतम उपयोग गर्ने हो। अहिले देशभर धेरै ठाउँमा सम्झौता गरिरहेका छौं। हाम्रो माटो, हाम्रो भूमि हामीले निर्माण गर्ने हो। अरूले आएर बनाइदिँदैन।”








