२० मंसिर २०८२, शनिबार

राजनीतिमा अभिनय र सेन्टिमेन्ट बढ्दैछ-प्रधानमन्त्री ओली

प्रकाशित मिति :  13 May, 2025 5:12 pm


काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले अहिलेको राजनीति अभिनय र दिखावटी भावनामा बढी केन्द्रित हुँदै गएको टिप्पणी गरेका छन् ।

मंगलबार बालुवाटारमा आयोजित सिनेपा चलचित्र छायांकन स्टुडियो निर्माण आरम्भ उद्घोष समारोहमा बोल्दै उहाँले राजनीतिमा सत्य र यथार्थभन्दा पनि अभिनयजस्तो शैली हावी हुन थालेको बताएका हुन् ।

उनले राजनीतिक व्यक्तित्वहरू राति मुसा समाउने र बिहान पूजापाठ गरेर रुद्राक्ष माला लगाउने जस्तो अभिनय गर्न थालेको कटाक्ष गरे । “आजकल राजनीतिमा पनि अभिनय आएकै छ,” उनले भने, “राति मुसा झ्याप्प पाल्ने, बिहानै रुद्राक्ष बाँधेर भगवान विष्णुको अवतारझैँ देखाउने चलन छ ।”

प्रधानमन्त्री ओलीले यस्ता प्रवृत्तिले राजनीतिलाई विकृत बनाउने चेतावनी दिए । “राजनीतिमा सेन्टिमेन्ट र अभिनयले देश बदलिँदैन,” उहाँले भन्नुभयो, “देश बदल्न यथार्थमा टेक्नुपर्छ। यथार्थले मात्र देश रूपान्तरण हुन्छ।”

उनले अहिलेको राजनीतिक वृत्तमा नयाँ संस्करणको राजनीति देखिएको उल्लेख गर्दै भगवानको नाम जप्ने तर काम भने राक्षसको जस्तो गर्ने प्रवृत्ति देखिएको टिप्पणी गरे ।

“बाघको पञ्जा चाहिएको बेला मात्रै देखाउने, अघिपछि दाह्रा पनि देखिँदैन,” उनले व्यंग्य गर्दै भने, “यस्तो प्रवृत्ति राजनीतिमा पनि बढ्न थालेको छ ।”

सिनेपाबाट चलचित्र क्षेत्रमा नयाँ आशा
सो अवसरमा प्रधानमन्त्री ओलीले सिनेपा चलचित्र छायांकन स्टुडियोले नेपाली चलचित्र क्षेत्रमा नयाँ उचाइ थप्ने विश्वास व्यक्त गरे । उनले सिनेपाको प्रयासले नेपाली चलचित्र उद्योगलाई आधुनिक प्रविधि र प्रतिस्पर्धामा अगाडि ल्याउने अपेक्षा व्यक्त गर्दै चलचित्र क्षेत्र देशको सांस्कृतिक पहिचान र रचनात्मक अभिव्यक्तिको महत्वपूर्ण क्षेत्र भएको उल्लेख गरे ।

उनले चलचित्र क्षेत्रले समाजको यथार्थ चित्रण गर्दै सकारात्मक परिवर्तनमा योगदान दिनुपर्नेमा जोड दिए । “सिनेपाले चलचित्र क्षेत्रमा नयाँ वातावरण सिर्जना गर्नेछ,” उहाँले भन्नुभयो, “हामी चलचित्र मार्फत देश र समाज बदल्न सक्छौं ।”



प्रतिक्रिया दिनुहोस !