संक्रमणकालीन न्यायका दुई आयोगलाई पूर्णता : लिलादेवी गड्तौला र महेशकुमार थापाले नेतृत्व गर्ने
काठमाडौँ । सरकारले संक्रमणकालीन न्यायसम्बन्धी दुई आयोगलाई पूर्णता दिएको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगमा अध्यक्षसहित सदस्यहरू नियुक्त गर्दै आयोगलाई पुनर्गठन गरेको हो ।
सत्य निरुपण तथा मेलमिलाप आयोगको अध्यक्षमा महेशकुमार थापा (संखुवासभा) नियुक्त भएका छन् । आयोगमा अच्युत प्रसाद भण्डारी (जाजरकोट), डा. टीका प्रसाद ढकाल (पाँचथर), पदमबहादुर शाही (जुम्ला) र कुमारी कौशल्या ओझा (कञ्चनपुर) सदस्य रहेका छन् ।
बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगको अध्यक्षमा पूर्वमुख्यसचिव लिलादेवी गड्तौला नियुक्त भएकी छन् । यस आयोगमा गोपालनाथ योगी (सल्यान), अग्नीप्रसाद थपलिया (झापा), सृजना पोख्रेल (काठमाडौं) र बिनिता नेपाली (कास्की) सदस्य रहेका छन् ।
दुवै आयोगको नियुक्ति पूर्वप्रधानन्यायाधीश ओमप्रकाश मिश्र नेतृत्वको सिफारिस समितिको सिफारिस अनुसार गरिएको हो ।त्यस्तै, सरकारले गभर्नर सिफारिस समितिको पुनर्गठन पनि गरेको छ ।
उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल संयोजक रहेको समितिमा निवर्तमान गभर्नर महाप्रसाद अधिकारी र अर्थविद् डा. पोषराज पाण्डे सदस्य रहेका छन्। समितिबाट यसअघि डा. विजयनाथ भट्टराई र डा. विश्व पौडेलले राजीनामा दिएका थिए ।
यसैगरी, मन्त्रिपरिषद्ले सहसचिव शोभाकान्त पौडेललाई सचिवमा बढुवा गरेको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव विनोदप्रकाश सिंह उमेरहदका कारण अनिवार्य अवकाशमा गएपछि रिक्त पदमा पौडेलको बढुवा गरिएको हो । सचिव सिंह गत बुधबार ५८ वर्षे उमेरहद पुगेका थिए ।








